विघटित संविधानसभाको उपलब्धि सावर्जनिक गरिँदै
काठमाडौ ७ भदौ । विघटित संविधानसभाका ६ सय १ सदस्यले चार वर्षमा संविधानसभामा गरेका कामहरु आज सार्वजनिक गरिने भएको छ ।
संविधानसभा दर्पण नामक पुस्तकमार्फत संसद सचिवालयले सभासदहरुले संविधानसभाभित्र गरेका काम सार्वजनिक गर्न लागेका हुन् ।
विघटित संविधानसभा भवनको ल्होत्से हलमा दिउँसो ३ बजेपछि पुस्तक सार्वजनिक गरिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
उक्त पुस्तकमा संविधानसभाभित्र दलहरुबीच सहमति भएका र सहमति हुन बाँकी रहेका विषयहरुलाई समावेश गरिएको दस्तावेजमा ९ भाग र १६ अनुसूची गरी झण्डै साढे ५ सय पृष्ठको छ ।दस्तावेज विघटित संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले सार्वजनिक गर्नेछन् । दस्तावेज प्रकाशनका लागि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा सचिवालयका सचिव ठाकुर बराल, प्रबक्ता शर्मा, तत्कालिन सहसचिव लवप्रसाद गौतम, कानुनी सल्लाहकार टेकप्रसाद ढुंगाना रहेको समिति बनाइएको थियो ।२०६९ जेठ १४ गते विघटन भएको संविधानसभाको दस्तावेज तयार पार्न १ वर्षभन्दा बढी लागेको छ ।