मुस्ताङमा पर्यटकको ओइरो
काठमाडौं, १० कात्तिक । प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरले सुसज्जित जिल्ला, मुस्ताङ भ्रमणका लागि अहिले सबैभन्दा उपयुक्त मौसम हो । त्यसै कारण अहिले हजारौँ पर्यटक मुस्ताङ पुगेका छन् । अचेल मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र कागवेनीधाममा दर्शनार्थीको घँुइचो छ । त्यस्तै, ऐतिहासिक लोमान्थाङ दरबार, दामोदर कुण्ड, ढुम्बाताल, कुक्ष्बु तेरङगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ । मार्फागाउँ, टुकुचेलगायत क्षेत्रमा लटरम्मै फलेका स्याउले जोकोहीको मन लोभ्याउँछ । वेगले बहने हावा, हिउँ पग्लेर बगेको कालीगण्डकी, भीमकाय पहाड अनि हिमश्रृङ्खलाले पर्यटकको मन फुरुङ्ग बनाउछ । अचेल दैनिक ४ देखि ६ हजारको हाराहारीमा पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए भने आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ । बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । पर्यटकको घुइँचो लागेपछि मुस्ताङका पर्यटन व्यवसायी खुसी भएका छन् ।
अहिले पर्यटनको सिजन भएकाले आन्तरिक पर्यटकको चाप पनि निकै बाक्लिएको छ । चाडबाडको बिदाले अझ बढी पर्यटक बढेका हुन् । पहिला स्थलमार्ग सहज नहुँदाको अवस्थासम्म हुनेखानेको मात्र मुस्ताङ पहुँचमा थियो । अहिले भने कम खर्च गर्ने क्षमताका आन्तरिक पर्यटकले पनि मुस्ताङलाई गन्तव्य बनाउन थालेका छन् ।
यतिबेला मुस्ताङ बाह्य तथा आन्तरिक पर्यटकले भरिएको छ । बर्खायाम र हिउँदको सिजनमा प्राय सुनसान रहने मुस्ताङमा यतिबेला आन्तरिक पर्यटकको चहलपहलले गर्दा रौनक थपिएको छ । हुनत मुस्ताङ आफैमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । जिल्लामा पर्यटकको आगमन बढेसँगै मुस्ताङवासी खुसी भएका छन् । तर मुस्ताङमा पर्यटकलाई बस्नका लागि आवश्यक ठाउँ छैन । भनेजस्तो खानेकुरा पाइँदैन । सडकको अवस्था पनि राम्रो छैन । जसकारण पर्यटक दुखी छन् ।