सत्तारूढ नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

२०७५ कार्तिक १३ गते, मंगलवार

काठमाडौं, १३ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । सर्लाहिको रामनगर–४ मा घटना भएकाे हाे । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालका अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको बताइएकाे छ।
यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । वडाध्यक्ष महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ । सात जना घाइते भएका छन् । बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश ‘क’ का सांसद बिरेन्द्र सिंहले जानकारी दिएका छन् ।
घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानीय प्रेम सिंहले जानकारी दिए । घाइते लिन गएको एम्बुलेन्स माथी समेत तोडफोड एम्बुलेन्स तोडफोड भएपछि घाइतेहरुलार्इ उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए । झडपका क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको छ ।
सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुँडा भाचिएको र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरी नायब उपरिक्षक(डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
प्रहरीले आरोपीहरुलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयको आरोप छ । घटना स्थलमा प्रहरीहरुलाई खटाइ घटना बारे बुझ्न प्रहरी उपरिक्षक(एसपी),लाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । नेकपाका कर्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् । घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]