डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौं, १४ कात्तिक । डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन् । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष श्रेष्ठलाई न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गरेको हो । उनलाई विशेष अदालतले एक वर्ष कैद, १ करोड १८ लाख जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ । अख्तियारले दाबी गरेकोमध्ये ४८ लाख ९० हजार ३ सय ३७ रुपैयाँ श्रेष्ठको वैध सम्पत्ति रहेको र बाँकी १ करोड १८ लाख ६६ हजार रूपैयाँ अवैध ठहर्याएको छ । अख्तियारले उनलाई २०७२ सालमा अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा लगाएको थियो। डा. श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानुनी रूपमा धन आर्जन गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो । उक्त अवैध सम्पत्ति जफत हुने पनि फैसलामा उल्लेख छ। अवैध ठहरिएको जति नै रकम उनले जरिवानाका रूपमा बुझाउनुपर्ने फैसलामा भनिएको छ।
डा. श्रेष्ठ र उनकी श्रीमतीविरुद्ध अख्तियार दुरुपयोय अनुसन्धान आयोगले २०७२ फागुन २ गते १ करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ अवैध सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा हालेको थियो । श्रेष्ठका नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेको पनि अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।