युवा सङ्गठन नेपालले राष्ट्रघातविरुद्ध संघर्ष चर्काउने

काठमाडौं , १५ कार्तिक । नेकपाको सहायक संगठन ‘युवा सङ्गठन नेपाल’ ले भ्रष्ट्राचार, चर्को मूल्य बृद्धि, कर वृद्धिका विरुद्ध संर्घषका कार्यक्रम संचालन गर्ने जनाएको छ । सो संगठनको हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रघात, जनघात, गुण्डागर्दी र सामाजिक विकृति विसंगतिका विरुद्ध योजनाबद्ध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा उल्लेख छ ।
यस बिषयमा केन्द्रीय अध्यक्ष पाटन जंगलीद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ – “नेपालका देशभक्त, जनवादी, प्रगतिशील तथा क्रान्तिकारी युवाहरुको सङ्गठन युवा सङ्गठन नेपालको प्रथम राष्ट्रिय भेला भब्य रुपमा सम्पन्न भएको छ । युवा आन्दोलनलाई अगाडि बढाउने क्रममा अनेकौं चुनौती र व्यवधानहरु पार गर्दै नयाँ ढङ्गले अगाडि बढिरहेको छ । १० वर्षको महान जनयुद्ध र १९ दिने जनआन्दोलनदेखि हालसम्म राष्ट्रियताको रक्षा, जनअधिकार प्राप्ति र प्रगतिशील पक्षको पक्षपोषणमा युवाहरुको विशिष्ट भूमिका रहँदै आएको छ । दलाल पुँजीवादको विरुद्ध हाम्रो सङ्गठनले निरन्तर सङ्घर्ष गर्दै आएको छ । नेपालको अर्थतन्त्र विप्रेषण र विदेशी ऋणमा लड्खडाउँदै चलिरहेको छ । भ्रष्ट्राचार, शोषण, परनिर्भरता झनै बढेको छ । संघीयताको नाममा सिंहदरबारको भ्रष्ट्राचार, शोषण र अन्यायपूर्ण चर्को कर गाउँगाउँसम्म पुगेको छ । रोजगारको अवसर झन्झन् घटेको छ र युवा पलायन झन् बढेको छ । त्यसका विरुद्ध ‘‘दलाल राज्यसत्ताको दमन, गिरफ्तारी र फाँसीवादका विरुद्ध जुझारु युवा आन्दोलन सिर्जना गरौं । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि योङ रेड फोर्स, नेपालको प्रथम राष्ट्रिय भेला भव्य रुपले सफल पारौं ।।’’ मूल नाराका साथ सङ्गठनको प्रथम राष्ट्रिय भेला कात्तिक १२ गते काठमाडौंमा सम्पन्न भएको छ । भेलाले गरेका निर्णयहरु यसप्रकार छन्–
१) संगठनको प्रथम राष्ट्रिय भेला २०७५ कात्तिक १२ गते बिहान काठमाडौंमा उद्घाटन भयो ।
२) कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज क. सुदर्शनले भेलाको उद्घाटन गर्नुभयो ।
३) उद्घाटन समारोहका अतिथिहरु अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष तथा जबसका कोअर्डिनेटर क. अमर झाक्री, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष क. डम्बर विक, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय महासचिव क. धीरेन्द्रा उपाध्याय, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेलगायतले भेला सफलताको शुभकामना दिनुभयो भने सङ्गठनका निवर्तमान सचिव क. देव गुरुङले स्वागत मन्तव्य राख्नुभयो ।
४) कात्तिक १२ गते मध्यान्ह पछि काठमाडौंमै बन्द–शत्र शुरु भयो ।
५) क. देव, क. टाइगर, क. वीरेन्द्र, क. सोममायाको ५ सदस्यीय अध्यक्ष मण्डलमा बन्द–शत्र शुरु भयो ।
६) देशभरीबाट आएका २०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई ८ वटा समूहमा विभाजित गरिएको थियो । राजनैतिक प्रतिवेदन र विधानमाथि व्यापक छलफल पश्चात् टोली नेताहरुले आ–आफ्नो समूहका विचार, सुझाव र आलोचना प्रस्तुत गरे ।
७) सुझाव र मतहरुको आधारमा विधान–प्रतिवेदनमा आवश्यक थपघटसहित सर्वसम्मत रुपले तालीको गड्गडाहटसहित विधान र प्रतिवेदन पारित गरियो ।
८) सङ्गठनको सार र रुपमा एकरुपता ल्याउने उद्देश्यले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल राखियो ।
९) त्यसपछि ५ पद रिक्त रहनेगरी क. पाटनको नेतृत्वमा ४५ सदस्यीय कार्य समिति चयन गरियो ।
१०) नवनियुक्त अध्यक्ष क. पाटनको अध्यक्षता र महासचिव क. सागरको उद्घोषणमा समापन समारोह सम्पन्न भयो ।
११) समापन समारोहमा प्रमुख अतिथि क. सुदर्शनले प्रशिक्षणमूलक मन्तब्य दिनुभयो ।
१२) भ्रष्ट्राचार, जनदमन, राष्ट्रघात, जनघात, चर्को मूल्य बृद्धि, चर्को कर वृद्धि, गुण्डागर्दी र सामाजिक विकृति विसंगतिका विरुद्ध सङ्गठनले योजनाबद्ध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
१३) भेलाले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ (जुन यसै विज्ञप्तिसाथ संलग्न गरिएको छ) ।
समसामयिक प्रस्तावहरु :
(१) देशमा सत्ता संचालन गरिरहेको सामाजिक दलाल फाँसीवादी सरकारद्वारा गरिएका भ्रष्ट्राचार, राष्ट्रघात, जनघात, कालोबजारी, जनदमन, चर्को मूल्य बृद्धि, चर्को कर वृद्धिका विरुद्ध हाम्रो सङ्गठन सशक्त भण्डाफोरसहित संघर्षको नृेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । सामाजिक विकृति विसंगति तथा गुण्डागर्दीका विरुद्धसमेत सशक्त भण्डाफोरसहित संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
२) राजनीतिक, आर्थिक, साँस्कृतिक तथा भौगोलिक रुपमा हुँदै आइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध जनचेतना जागृत गर्दै त्यसको प्रतिरोधका लागि आम जनतालाई आव्हान गर्दछ ।
३) सामाजिक दलाल सरकारबाट वेलगाम र गैरजिम्मेवारीपूर्ण रुपमा वृद्धि गरिएको चर्को कर तुरुन्त फिर्ता गर्न माग गर्दछ ।
४) महङ्गीको आतङ्क तुरुन्त बन्द गर्न सरकारसँग माग गर्दछ ।
५) अपरकर्णाली, अरुण तेस्रो, तामाकोसी ३ लगायतका जलश्रोत सम्बन्धी असमान सम्झौताहरु खारेज गर्न माग गर्दछ ।
६) वैदेशिक रोजगारीका नाममा विदेशिएका लाखौं युवाहरुलाई देशभित्रै रोजगारीको ग्यारेन्टी गर्न यो राष्ट्रिय भेला जोडदार आव्हान गर्दछ ।
७) सन् १९५० लगायतका असमान सन्धी सम्झौता पूर्ण रुपमा खारेज गर्न माग गर्दछ ।
८) शान्ति, समानता, स्वाधिनता र समृद्धिको पक्षमा संघर्षरत नेपाल कम्युनिस्ट पार्टी तथा यस संगठनका नेता कार्यकर्ता र जनता माथि भैरहेको व्यापक दमन, गिरफ्तारी र झुटा मुद्दा लगाउने क्रियाकलाप बन्द गर्न यो भेला माग गर्दछ ।
९) देशका विभिन्न भागमा राखिएका आस्थाका बन्दीहरुलाई निशर्त रिहा गर्न यो भेला माग गर्दछ ।
१०) विश्वव्यापी रुपमा भइरहेका न्यायपूर्ण आन्दोलनहरुका विरुद्ध साम्राज्यवादीहरुको हस्तक्षेप बन्द गर्न यो राष्ट्रिय भेला माग गर्दछ ।
११) देशव्यापी रुपमा भइरहेका महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराधको अन्त्य गर्दै निर्मला पन्तका हत्याराहरुको छानविन गरी दोषीलाई कडाइपूर्वक कार्वाही गर्न यो राष्ट्रिय भेला माग गर्दछ ।
१२) सीमा अतिक्रमण बन्द गर्न भारतीय साम्राज्यवादलाई चेतावनी दिन चाहन्छ ।
१३) भेला सफल बनाउन विशिष्ट भूमिका खेल्ने नेपाल कम्युनिस्ट पार्टी मध्य कमाण्ड, विशेषतः काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालगायत सम्पूर्णमा भेला हार्दिक आभार प्रकट गर्दछ ।
१४) भेलालाई आर्थिक, नैतिक, भौतिक तथा प्रत्यक्ष वा परोक्ष हिसावले सहयोग गर्नुहुने ब्यापारी, बुद्धिजीवी, होटल व्यवसायी, उद्योगी तथा सम्पूर्ण जनसमुदायहरुमा यो भेला हार्दिक आभार व्यक्त गर्दछ ।”