‘सत्ताधारी नेकपा कुहिएको फर्सी , ओली दम्भी र गफाडी नेता ’

२०७५ कार्तिक १७ गते, शनिबार

काठमाडाैं, १७ कार्तिक । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताधारी नेकपा कुहिएको फर्सीजस्तै भएको र प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको बताएका छन । उनले पार्टीको संघीय बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उक्त कुरा बताएका हुन् । उखानटुक्का भनेर जनतालाई भ्रममा पार्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट प्रधानमन्त्री ग्रस्त रहेको उनको भनाइ छ । सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको नयाँ शक्तिको निष्कर्ष छ । सरकार अर्कमण्यता, भ्रष्टाचार एवं यथास्थितिको दलदलमा फसेकाले आफ्नै पार्टीकै नेताकार्यकर्ताबाट आलोचना हुन थालेको उसको विश्लेषण छ। प्रधानमन्त्रीको कार्यशैली र सरकारका गतिविधिले सत्तारूढ नेकपा पनि अधपतनको दिशामा गएको पनि भट्टराईको विश्लेषण छ।
यसैगरी नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदनमा नेकपाको सरकारको समीक्षा गर्दै भनेका छन – “वर्तमान नेकपा सरकारले ७ महिना अबधि पूरा गरेको छ । नयाँ संविधान जारी भएपछिको यो पहिलो निर्वाचित सरकार हो । करिब ७ दशक लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गरेको हो । संघीय समाजवादी फोरमसमेतको सहभागितामा सरकारले दुईतिहाई बहुमतको हैसियत प्राप्त गरेको छ । तसर्थ यो सरकार विल्कुलै राजनीतिक सहजताको अवस्थामा छ । यदि सरकारसंग केही गर्ने दुरदृष्टि, सोच र इच्छाशक्ति हुने हो भने यो सरकारलाई ऐतिहासिक महत्वका जनमुखी काम गर्नबाट कसैले रोक्न÷छेक्न सक्ने ठाउँ थिएन÷छैन । प्रारम्भमा यो सरकारप्रति जनताको केही आशा÷अपेक्षा थियो । आफूलाई कम्युनिष्ट, सर्वहारावादी, जनवादी,गरिबमुखी, समाजवादी, साम्यवादी आदिइत्यादि भन्न रुचाउनेहरुको पहिलो बहुमतको सरकार बन्दा साँच्चै केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जाग्रित हुनु अस्वभाविक थिएन । हाम्रो पार्टीलाई राम्रोसंग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन् । यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन् । हाम्रो पार्टीको आकलन निरन्तर सही सावित हुँदैछ । जनसमुदायमा नेकपाप्रतिको भ्रम निरन्तर टुट्दै गइरहेको छ । नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र हैन, उल्टो आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ । दुईतिहाईको दंभमा भएका अबान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै नेता÷कार्यकर्ताबाट आलोचित हुन थालेको छ । नेकपाभित्रको गुटबन्दी र स्वार्थसमूहहरुको टक्कर झनझन नाङ्गो हुँदैछ । उनीहरु सत्तास्वार्थका लागि जेपनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेका छन् । लोकतन्त्रका सामान्य मूल्यमान्यता र मर्यादालाई समेत ख्याल नगरीकन नेकपा सरकार पतनको बाटो उदत्त भएको छ ।
शुरुवातमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने र निषेधआज्ञा जारी गरी विरोधी विचारलाई सीमित गर्ने प्रयास ग¥यो । असफल भयो । त्यसपछि ३३ किलो सुनतस्करीको छानविन भइरहेको हल्ला चलायो । खोज्दै जाँदा ठूला माछा फेला पर्ने, लहरो तान्दा पहरो जाने देखेपछि सबै सामसुम गरायो । सार्वजनिक यातायातमा सेन्डिकेट हटाउन हल्ला पिटायो । आफै पछि हट्यो । काम नगर्ने ठेकदारहरुलाई कार्वाही गर्ने प्रोपागण्डा ग¥यो । अधिकांश त्यस्ता ठेकदारहरु आफ्नै पार्टी, नेता र सरकार निकट पाइएपछि तैचुप मैचुप भयो । कञ्चनपुरको निर्मला पन्त बलात्कार÷हत्या प्रकरणमा दोषी पत्ता लगाउन दंड दिन सकेन । राज्यले उल्टै बलात्कारीहरुलाई जोगाउने प्रयास ग¥यो । ओली सरकारको शासनकालमा १५०० भन्दा बढी हत्या, बलात्कार, एसिड आक्रमण र महिला हिंसाका घटना भएका छन् । सरकार कानमा तेल हालेर सुतेको छ ।
नेकपा सरकार निरन्तर कमिसन र भ्रष्टाचारको चंगुलमा फस्दै गइरहेको छ । सम्पति शुद्धिकरण विभागलाई प्रधानमन्त्रीको कार्यालय मताहत गरे यता विभागले एउटा पनि कालो धनको घटना छानविन गरेको छैन । एनसेल कर छली प्रकरणलाई डिसमिस गरिएको छ । ग्लोबल टेन्डरको कुनै प्रक्रिया नगरिकन बुढी गण्डकीजस्तो देश आफैले बनाउनु पर्ने राष्ट्रिय गौरवको योजना ठाडो निर्णयबाट बदनाम चिनियाँ कम्पनी गेजुवालाई जिम्मा लगाइएको छ । नेपाल वायुसेवा नियम र नेपाल टेलेकममा सरकारले विवादस्पद नियुक्तिहरु गरेको छ । त्यसपछाडि कमिसनको खेल भएको कुरा प्रष्ट छ । वाइडबडी जाहज खरिद प्रकरणमा कमिसनको ठूलो रकम चलखेल भएको चर्चा छ । नेपाली सेनाले निर्माण गरेका कतिपय आयोजनमा सैनिक नेतृत्व र राजनीतिक नेतृत्वबीच भेरिएसन रकम अनावश्यक बढाई मिलीभगत गरेको भरपर्दो सूचना प्राप्त भएको छ ।
ओली सरकार देशको हितमा कुटनीतिक सन्तुलन कायम गर्न असफल भएको छ । विमस्टेकलाई सार्कको सामानान्तर प्रतीत हुने गरी प्रस्तुत गर्न खोजियो, त्यो घातक कुरा थियो । भारतीय सेनाको नेतृत्वमा विमस्टेक देशहरुले संयुक्त सैनिक अभ्यास गर्ने र त्यसमा नेपाली सेनालाई समेत सामेल गराउने अनौपचारिक सहमतिको पोल खुलेपछि सरकार त्यसबाट फिर्ता हुन बाध्य भयो । नेपाल–भारत प्रधानमन्त्रीस्तरीय सहमति भएको भनिएको थप हवाई रुट कार्यान्वयन गराउन सरकार असफल भएको छ । प्रवुद्ध समूहको प्रतिवेदन त्यत्तिकै हावामा झुण्डिएर रहेको छ ।
अर्कोतिर चीनसंग भएको भनिएका कुनै पनि सम्झौताहरु कार्यान्वयनमा ल्याउन सक्ने गरी गृहकार्य गरिएको छैन । भुकम्पपछि बन्द तातोपानी भन्सार खुल्ल सकेको छैन । केरुङ्ग बाहेक चीन तर्फको कुनै नाका भरपर्दो गरी संचालन भएको छैन । यसले भारतमाथि नेपालको निर्भरता घटाउने कुरा गफमा मात्र सीमित भएको छ । व्यापार घाटा निरन्तर बढ््दो छ । यहाँसम्म कि भारतमा भएको नोटबन्दीको कारण विमुद्रीकरण भएको नेपाल राज्य र नेपाली जनतासंग रहेको भारु सटहीसम्म नेपाल सरकारले गर्न सकेको छैन । चाडपर्वको मुखमा चिनी आयात र आपूर्ति गर्दा समेत ठूलो कमिसनको चलखेल भएको छ ।
आफूलाई कम्युनिष्ट दावी गर्ने सरकारले शिक्षा र स्वास्थ्यको निजीकरण, व्यपारीकरणलाई झनै प्रोत्साहित गर्दैछ । देशको सार्वजनिक शिक्षा र स्वास्थ्य नीतिमा कुनै सार्थक परिवर्तन गरिएको छैन । बरु झन्झन् बर्वाद हुँदै गैरहेछ । सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी घटाइएको छ । गरीब, निमुखा, भूमिहीन र सुकुम्बासीको सवालसंग सरकार पूरै बेखबर छ । सरकार भूमिसुधार वा भूमिव्यवस्थापनको कुरा गर्न समेत डराइ रहेको छ। यहाँसम्म कि चुनाव अगाडि आफैले दिन्छु भनेर कवोल गरेको बृद्धभत्ताको रकम समेत नबढाएर ओली सरकारले ज्येष्ठ नागरिकलाई समेत ढाँट्ने काम गरेको छ । वेरोजगार युवाहरु वाध्यतावश विदेशिनु पर्ने र उनीहरुको शव दिनहुँ देश भित्रिने प्रक्रिया ज्यूँ का त्यूँ छ ।
गत आर्थिक बर्षको अन्त्यतिर असारे विकासका लज्जास्पद परिदृष्यहरु जताततै देखिएका थिए । चालु आर्थिक बर्षको ३ महिनामा भने सरकारले ५.५१% मात्र पुँजीगत खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३ महिनामा १७ अर्ब २८ करोड ९७ लाख मात्र खर्च भएको छ । गत आर्थिक वर्षको अन्त्यमा अर्थात् असार महिनाको अन्तिम हप्ता मात्र सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड ८१ लाख खर्च गरेको हो । गत आर्थिक बर्षको अन्तिम एक हप्ताको खर्चभन्दा चालु आर्थिक बर्षको ३ महिनाको पुँजीगत खर्च डेड गुणाभन्दा बढीले कम हो । यसको अर्थ सरकार अहिले पनि अनियमिता, बेथिति, गुणस्तरहीनता र भ्रष्टाचारलाई प्रोत्साहित गर्ने गरी असारे विकास पर्खेर बसेको छ भन्ने प्रष्ट हुन्छ ।
फोरमलाई सरकारमा सामेल गराएर र राजपाको समेत समर्थनमा दुईतिहाईको दंभ देखाएको नेकपा सरकारले संविधान संशोधन गरी राजनीतिक समस्या हल गर्न कुनै पहलकदमी लिएको छैन । ७ मध्ये ६ बटा प्रदेशमा नेकपा सरकार छ । बाँकी १ प्रदेशमा पनि नेकपाकै सत्तासाझेदार दल सरकारमा छन् । तर प्रदेश सरकारले कुनै गति लिन सकेका छैनन् । चुनाव भएको एक वर्ष पुग्न लाग्दा पनि प्रदेशको नामाकरण र स्थायी राजधानीको समस्या समेत नेकपा सरकारहरुले हल गरेका छैनन् । प्रादेशिक भाषाहरु निर्धारण गर्ने र प्रदेशिक भाषाहरुका सरकारी कामकाज र शिक्षा दिने कार्यमा कुनै प्रगति भएको छैन ।
स्थानीय सरकारले जथाभावी कर थोपरिहेका छन् । जनतामाथि अनावश्यक कर थपेर महंगा गाडी किन्ने र त्यसको दोष संघीयतामाथि खन्याएर संघीयतालाई असफल बनाउने षडयन्त्रमा नेकपा र यसका निर्वाचित प्रतिनिधिहरु आफै सामेल भएको भान हुन्छ । संविधानमा समवर्ती सूचीमा भएका अधिकारको बाँडफाँट हुन सकेको छैन । संघीय सरकारले अहिलेसम्म प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्न कुनै तदारुकता देखाएको छैन । प्रदेश सरकारहरु केन्द्र सरकारको मुख ताकेर बसेका छन् । प्रधानमन्त्री र मुख्यमन्त्रीहरु बीच अनावश्यक जुहारी चलिरहेको छ । प्रधानमन्त्री अन्तप्र्रादेशिक परिषदको बैठकबाट डराएर भागिरहेका छन् ।
प्रधानमन्त्रीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दंभी देखिएको छ । अनेक बिङ्गा र उखानटुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोबैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन् । घरघरमा ग्याँस पाइप पु¥याउने योजना उनी दुईचार घरको गोबरग्याँस उद्घाटन गरेर तुष्टिकरण गर्दैछन् । केरुङ्ग–काठमाण्डौं–लुम्बिनी रेलवेको बचन उनी फेसबुकमा जयनगर–जनकपुर रेलवेको फोटो पोष्ट गरेर भुलाउन खोज्दैछन् । पुषदेखि हनुमाननगरबाट चल्ने पानीजहाजको टिकट सायद प्रधानमन्त्रीकै सपनामा बुकिङ्ग हुँदैछ । यी सबै घटनाक्रमले के पुष्टि गर्दछ भने नेकपा अधपतनको संघारमा अधमरो उभिएको छ । यो पार्टी र सरकारबाट नेपालको समृद्धीकरण र अग्रगामी रुपान्तरणको नेतृत्व हुने कुनै सम्भावना बाँकी छैन । भ्रष्ट र विकृत आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म)को भित्री सारलाई ‘कम्युनिष्ट’ पार्टीको बाहिरी आवरणले छोपेर त्यो लामो समय टिक्ने कुरै हुँदैन ।
अर्कोतिर नेपाली कांग्रेसले प्रतिपक्षी धर्म निर्वाह गर्न पटक्कै सकेको छैन । नेकपा सरकारको असफलताबाट अर्को चुनावमा स्वतः सरकारमा फर्किने मुख मिठ्याएर बसेको छ । नयाँ शक्ति पार्टी नेपालले जनसुमादायमा यो कुरा तीव्र र आक्रमण संप्रेषण गर्न जरुरी छ कि अब कांग्रेसको बिकल्प कम्युनिष्ट, कम्युनिष्टको बिकल्प कांग्रेस हुनै सक्दैन । यी दुबै परम्परावादी दलहरु एउटै सिक्काको दुईटा पाटो मात्र हुन । इतिहास र पृष्ठभूमिको थोरै भिन्नता भए पनि यी पार्टीहरु बीच नीति, सिद्धान्त, विचार र कार्यशैलीको कुनै भिन्नता छैन । दुबैले देशमा मौलाउँदै गएको आसेपासे पुँजीवादलाई मलजल गर्ने र त्यसबाट निजी र दलगत लाभ लिने तथा देश र जनतालाई कंगाल पार्ने काम मात्र गरिरहेछन् । मधेसी दलहरुले पनि जनता र राष्ट्रका एजेण्डा छोडेर सत्तास्वार्थको दौडमा सामेल भएका छन् । दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट भनिने सरकारको लज्जास्पद असफलतातिर उन्मुखताले देश गम्भीर संकटतिर धकेलिँदै गएको प्रष्ट देखिन्छ । यो स्थितिमा अग्रगामी राजनीतिक विकल्प निर्माण हुन सकेन भने देश प्रतिक्रान्तिकारी दिशामा जाने या अशान्ति र अस्थीरताको भूँमरीमा फस्ने गम्भीर खतरा रहनेछ । त्यस्तो संकटलाई रोक्न प्रगतिशील–लोकतान्त्रिक विकल्पको निर्माण ऐतिहासिक आवश्यकता बन्दै गैरहेको छ ।”
यसैबीच , नयाँ शक्ति पार्टीको कात्तिक १४ र १५ गते बसेको पूर्ण बैठकले मंसिर १ गतेदेखि चैत ३० गतेसम्मका लागि ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’को कार्ययोजना अघि सारेको छ । यस कार्ययोजना मुताविक पार्टी महाधिवेशन आयोजक कमिटीका सबै सदस्यहरु देशका ७७ जिल्लामा अभिप्रेरकका रुपमा परिचालित भई स्थानीय पार्टी अधिवेशन सम्पन्न गर्ने र पार्टीलाई वडा तहसम्म विस्तार गरिने नयाँ शक्ति पार्टीले जनाएको छ । सो पार्टीले पाँचथरको चिवा भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १७६५ किलोमिटर लामो मध्य पहाडी लोकमार्ग जागरण यात्रा गर्ने पनि जनाएको छ । यो यात्रामा नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्र, संविधानका अपूर्णता पूरा गर्न संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद, स्थानीय तहहरुको सवलीकरण, प्रदेशहरुको पुनर्सीमांकन, सुशासनका लागि अख्तियार र कर्मचारीतन्त्रको पुनर्गठन, विदेशमा बस्ने नेपालीहरुको भोटिङ अधिकार लगायतका सवालमा बृहत जागरण अभियान सञ्चालन गरिने जनाइएको छ ।
त्यस्तै पार्टीको सचिवालयमा ३३ जना र हेडक्वार्टरमा ११ जना रहने निर्णय गरेको छ । नयाँ शक्ति पार्टीले केपी ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]