निर्मला पन्तका पिता धर्नामा बस्ने

२०७५ कार्तिक १८ गते, आईतवार

काठमाडौं, १८ कात्तिक । कञ्चरपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको १०२ दिन वित्तिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै निर्मलाका बुवा यज्ञराज पन्त आगामी कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्ने भएका छन् । हत्याकाण्डको एक सय दुई दिन नाघिसक्दा समेत अपराधी पत्ता नलागेको भन्दै परिवारले आन्दोलनको घोषणा गरेको हो । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्यारा एक साता भित्र पत्ता नलगाए उनको परिवार धर्नामा बस्ने बताएको छ ।
पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले यतिका दिनसम्म पनि छोरीको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन नसकेको भन्दै न्यायका लागि तिहारपछि आन्दोलनमा उत्रने बताए । उनले सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै अपराधी पत्ता लगाएर कारवाही गर्न माग गरे । निर्मला हत्याकाण्डको छानबिनका लागि विभिन्न समिति गठन गरे पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । प्रहरीले अपराधीसम्म पुग्ने कुनै सुत्र फेला पार्न सकेको छैन भने छानबिन पनि शून्यमै छ ।
हत्याकाण्डको छानबीनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ । गत साउन १० गते साथीको घर पढ्न गएकी निर्मला दोस्रो दिन उखुबारीमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]