मलेसियाको जेलमा दर्जनौ नेपाली कामदार
काठमाण्डौं ,९ भदौ। वैदेशिक रोजगारिका लागि मलेसिया पुगेका ६० भन्दा बढी नेपाली कामदार सेरेम्यान लिङकिङ जेलमा थुनिएका छन् । ६० नेपाली वर्ष दिनदेखि जेलमा थुनिँदा पनि मलेसियास्थित नेपाली राजदूतावासका प्रतिनिधि एकपटक पनि भेट्न नगएको भन्दै कामदार र मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेको बताइएको छ । ‘जेलभित्र ६० नेपाली थुनिएका छन्, तर दूतावासका कोही पनि भेट्नसम्म पनि नगएको,’ बिहीबार नेपाली व्यवसायीको पहलमा जेलमुक्त भएका हेटौंडाका सानुकान्छा रुम्बाले टेलिफोन मार्फत बताए । ‘जेलभित्र नेपालीको बिचल्ली छ । जेलमा अरु देशका नागरिक पनि छन् । तर सम्बन्धित देशका दूतावास प्रतिनिधि पटकपटक भेट्न गएर छुटाइरहेका छन्, नेपाली दूतावासले कुनै पहल गरेको छैन्,’ उनले भने ।
नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा नेपाली पठाउने मात्र नभएर उनीहरुको सुरक्षाका लागि पनि सरकारले चासो दिनुपर्ने कामदार तथा व्यवसायी बताउँछन् । वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा करिब ७ लाख नेपाली कामदार छन् ।