नेकपाद्वारा जनसभा प्रचारप्रसारका लागि पत्रकारसहितको बैठक सम्पन्न
काठमाडौ, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा यही मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारीका साथै प्रचारप्रसारलाई तीव्र पारेको छ । यसै बिषयमा आज पार्टी पीबीएम अनिल विरही र प्रचार प्रसार उपसमितिको संयोजक पार्टी केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको उपस्थितिमा जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि बैठक बसेको थियो । सो बैठकमा उपसमितिका सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, रातो खबरका प्रबन्धनिर्देशक भीमप्रसाद चापागाईं, सम्पादक अशोक सुवेदी, पत्रकार सङ्गठनका पदाधिकारी, विभिन्न अनलाइन, पत्रपत्रिकालगायत मिडियाको सहभागिता थियोे । 
प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रचारप्रसार उपसमिति क्रियाशील बनेको छ । उक्त उपसमितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार काठमाडौँमा बसेको थियो । बैठकले रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना निर्माण भएको छ ।
