पत्रकारको कलमलाई बन्दुक भन्दा बलियो बनाउन आग्रह

२०७५ मंसिर १३ गते, बिहीबार

काठमाडौ, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्तिकारी पत्रकारहरुलाई जनपक्षीय कलमको माध्यमबाट जनताको सेवा गर्न आह्वान गरेका छन । नेपाल नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिद्वारा काठमाडौंमा आयोजना गरिएको ३ दिने पत्रकारिता तालिम समापन कार्यक्रममा बोल्दै उनले देश र जनपक्षीय मुद्या उठाउनका लागि क्रान्तिकारी पत्रकारहरुले बोकेको कलम बन्दुक भन्दा बलियो बनाउन आग्रह गरे । कतिपय मिडियाले राज्यका निकायले गरिरहेका भ्रष्टाचार, अन्याय र गलत कार्यको समेत बचाउ गरिरहेको भन्दै क्रान्तिकारी पत्रकारहरु त्यसका विरुद्धमा ठूलाठूला अक्षरमा खुलेर लेख्न र आवाज विहिनहरुको आवाजको भुमिका खेल्नुपर्ने बताए । देश अहिले ठूलो संकटमा रहेको भन्दै सही ढंगले देशको प्रतिनिधित्व गर्ने पार्टीको खाँचो औल्याउदै उनले भने –‘पटकपटक जनताका नाममा आन्दोलन भए, तर सम्झौतामा टुङ्गीए, जनतालाई सडकमा छोडे नेताहरु सत्तामा गए तर रोग निको पार्ने ठाउँमा ट्रान्सफर मात्र नेताहरु बने ।’
त्यसकारण देशलाई निको पार्न राजनीतिक डाक्टरको आवश्यकता परेकाले त्यो जिम्मेवारी निर्वाह गर्न आफ्नो पार्टी सबै हिसाबले तयार रहेको र जनताको काँधमा समेत जिम्मेवारी आएको उनको कथन थियो । देशको जिम्मा कसैले नलिने हो भने भयानक भुमरीमा फस्ने खतरा औल्याउदै प्रकाण्डले विकल्पको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीबाट जनताले फेरि पनि ठूलो अपेक्षा गरेको र आफूहरुको काँधमा आएको त्यो दायित्व पूरा गर्न पत्रकारहरुलाई पनि आग्रह गरे । उनले श्रमजीवि जनता र न्यायका पक्षमा जस्तोसुकै अवस्थामा पनि कलम चलाउन र जनताको सपना साकार पार्न अहम भूमिका खेल्ने दायित्व बढेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य अनिल शर्मा विरहीले अहिलेको युगमा सञ्चारको भूमिका झन् बढेको बताए । कार्यक्रममा कान्तिपुर डेन्टल क्लिनिकका प्रबन्ध निर्देशक बुद्धिमान श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका करिब ६० जना सहभागी रहेको सो तालिम सोमबार सुरु भएर बुधबार समापन गरिएको हो । तालिममा सहभागी प्रशिक्षार्थी सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटि सदस्य प्रकाण्डले टिका लगाएर प्रमाणपत्र प्रदान गरेका थिए भने प्रशिक्षकहरुलाई मायाको चिनो दिइएको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्य, मल्टिमिडियाबारे टेक नारायण भट्टराई, माेद नाथ ढकाल, उजिर मगर, अनिल शर्मा विरही, गुणराज लाेहनी, गंगाधर पराजुली लगायतले तालिम दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]