अलपत्र यात्रा- – बलराम तिमल्सिना
हिड्दा हिड्दै लम्वे अभियान
एउटा अक्करमा पुगेपछि
जव अगुवाले भन्यो-
“टोली दायाँ घुम्ला !”
टोली दायाँ मोडियो
दायाँ मोडिएपछि
त्यो बाटो सरासर पुग्यो राजधानी !
‘राज्य सत्ता वाहेक सवै कुरा भ्रम हो ‘
यस्तो सिकाइएका यात्रीहरूले सोचे
यात्रा केन्द्रीय सत्तातिरै भैरहेछ !
सिंहदरबारको दक्षिण गेटमा पुगेपछि
फेरि अगुवाले भन्यो –
‘अर्को आदेश नआउन्जेल टोली यहीं बस्ला !’
अगुवाहरू भित्र छिरे
पछुवाहरले सोचे –
यो पटककको एसल्टमा
नेताहरूको पालो रैछ !
भित्र छिरेका अगुवाहरू
दुवै हात उठाउँदै बाहिर निस्के
अघिको अगुवाले फेरि भन्यो-
‘टोली , सवैले दुवै हात उठाउँला !’
प्राय सवैले दुवै हात माथि उठाए
यसरी यौटा यात्रा अलपत्र पर्यो !