‘वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेरै छाड्छौ ‘

काठमाडौं , २ पुस । नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमान्ड इन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य अनिल विरहीले दलाल संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । पूर्वको थबाङ भनेर परिचित ताप्लेजुङ जिल्लाको उत्तर–पूर्वमा रहेको ऐतिहासिक हिमाली गाउँ ‘हेल्लोक’ मा ‘हेल्लोक समाजघर’ शिलान्यास गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । नेता विरहीले दलाल संसदीय व्यवस्थाले देशलाई भयानक वर्वादीतिर धकेलेको, नागरिकलाई चरम आर्थिक शोषण र दमन गरेको आरोप लगाउंदै दलाल संसदीय व्यवस्थाको ध्वंश पछी मात्र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुने बताए । सोही अवसरमा पार्टी कमान्ड इन्चार्ज अनिल विरहीले पार्टी केन्द्रीय कार्यालयले समाजघर निर्माणका लागि प्रदान गरेको नगद रु १ लाख रुपैया भवन निर्माण समितिका अध्यक्ष चन्द्र माङ्वुलाई हस्तान्तरण गरेका थिए । त्यसैगरी नेकपा ताप्लेजुङ इन्चार्ज सक्कलले रातो खवर प्रकाशन गृहद्वारा हेल्लोकका जनतालाई प्रदान गरिएको ११ थान मार्क्सवादी साहित्यका पुस्तकहरु हेल्लोकका पार्टी सचिव दुर्गा सिंह लिम्बूलाई उपलब्ध गराएका थिए । सो समाज भवन निर्माणको लागि आठ आना जग्गा श्री शेरबहादुर माङ्वुले निःशुल्क प्रदान गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन, हेल्लोकका पहिलो कम्युनिस्ट तथा पञ्चायतिकालमा पटक–पटक जेल हिरासतको कष्ट झेलेका रनध्वज लिम्बु र ताप्लेजुङ्ग जिल्ला इन्चार्ज सक्कलले मन्तव्य राखेका थिए । कार्यक्रमका अतिथिहरु अनिल विरही, सुमन, सक्कल, याम, रनध्वज लिम्बू, विद्यालयका प्रधानअध्यापक कमल लिम्बूलाई हेल्लोक गाउँ समिति, हेल्लोक समाज परिवर्तन यूवा क्लव, राष्ट्रिय लिम्बूवान संस्कृति तथा वातावरण संरक्षण मञ्च र स्थानिय जनताले अभिनन्दन गरेका थिए ।
राष्ट्रिय लिम्बुवान संस्कृति तथा वातावरण संरक्षण मञ्च र हेल्लोक युवा क्लबले लिम्बू संस्कृति झल्कने गीत, संगित र नृत्य प्रदर्शन गरिएको सो कार्यक्रममा विनु लिम्बु र पवित्रा लिम्वुले पनि गीत र मन्तव्य प्रस्तुत गरेका थिए ।
जिल्ला जनसरकार प्रमुख प्रकाशको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य नरपति पौडेलले राखेका थिए भने कार्यक्रम संचालन विजय लिम्वूले गरेका थिए ।