भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी !
काठमाडौं, ४ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड रुपैयाँ ठगी गर्ने विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीका अनुसार उनीहरूले बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेको तर, एक रुपैयाँ पनि कर तिरेका थिएनन् । ‘कर छलीकै उद्देश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘छानबिनमा तानिएमा आफूहरू जोगिने उद्देश्य उनीहरूको देखिन्छ ।’ ठगीमा सरकारी कर्मचारीहरूको पनि मिलेमतो रहेको आशंका प्रहरीले गरेको छ । त्यसैले पक्राउ गरिएका व्यक्ति, दर्ता गरिएको कम्पनी र नागरिकताधनीको नाम ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । ‘यसमा ठूलै गिरोहको संलग्नता छ जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न सिआईबीका एक् अधिकारीले बताए ।
यसैगरी, सिआइबीको टोलीले नक्कली बिमालेखा जारी गरी विदेश जाने कर्मचारीलाई ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका चार कर्मचारीसहित ६ जना पक्राउ गरेको छ । पक्राउ परेका एक प्रकाश रेग्मी सोही कम्पनीका पूर्वकर्मचारी हुन् । यसअघि पनि उनी यस्तै घटनामा पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त कालिमाटीले दायर गरेको मुद्दामा उनी एक लाख धरौटीमा छुटेका थिए । रेग्मीले प्राइम लाइफ इन्स्योरेन्सका एजेन्टका रुपमा काम गरेका थिए । उनीमार्फत बीमा गराई वैदेशिक रोजगारीमा गएका धादिङका गोकर्ण बिडारीको गत वर्ष मृत्यु भएको थियो । बीमा वापतको पैसा लिन इन्स्योरेन्स जाँदा बीमा नै नगरिएको र पैसा लिएर नक्कली कागजपत्र दिएको खुल्यो । अनुसन्धानको क्रममा पैसा आफैंले राखी रेग्मी लगायतका कर्मचारीले बदमासी गरेको खुलेको थियो । कालिमाटी वृत्तले प्राइम लाइफका सञ्चालहरू, सिईओ तथा कम्पनी सचिवलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । करिब चार वर्षअघि वल्र्ड वेयर मेनपावरबाट मलेसिया गएका १८ जनाले रेग्मीमार्फत बीमा गरेका थिए । उनीहरूलाई पनि बीमा गरेको नक्कली कागजपत्र दिएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ । अहिले पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा वैदेशिक रोजगारीमा गएका धेरै व्यक्तिहरूको नक्कली बीमा पोलिसी जारी गरी ठगी गरेको खुलेको छ ।