इस्लामिक समूह पराजित भएको ट्रम्पको घोषणा

२०७५ पुष ५ गते, बिहीबार

काठमाडौं, ५ पुस । अमेरिकाले सिरियामा रहेका आफ्ना सैनिकहरुलाई फिर्ता बोलाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक समुह आईएस पराजित भएको घोषणा गरेसँगै अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउने भएको हो । अमेरिकाले सिरियामा आफ्नो अभियान दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । तर, त्यसको विस्तृत विवरण भने दिइएको छैन । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै आईएसविरुद्धको ऐतिहासिक विजय पछि आफ्ना सेनालाई घर फर्काउने समय आएको उल्लेख गरेका छन् । ह्वाइट हाउसले पेन्टागनलाई सैनिक फिर्तीको योजना बनाउन निर्देशन दिइसकेको छ ।
अमेरिकाले आफुहरुको हित रक्षा गर्न सबै स्तरमा पुनः संलग्न हुन तयार रहेको भन्दै कट्टरपन्थी इस्लामिक आतंकवादी र उनीहरुलाई कुनै पनि प्रकारले सहयोग गर्नेविरुद्धको अभियानलाई पनि नरोक्ने जनाएको छ । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् । उनीहरुले उत्तर–पूर्वी सिरियालाई इस्लामिक स्टेटबाट मुक्त गराउन मद्दत गरिरहेका थिए ।
यद्यपि त्यहाँ अझै पनि लडाइ जारी छ । उता अमेरिकी रक्षा अधिकारीले भने आईएसले फेरी ठाउको उठाउन नसकोस भनेर त्यहाँ कुनै न कुनै रुपले अमेरिकी उपस्थिति हुनु पर्नेमा जोड दिएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]