के संसोधनवाद प्रगतिशील हुन्छ ? – -बलराम तिमल्सीना
मैले बुझेको , संसोधनवाद भनेको छद्म पूँजीवाद हो ।त्यसलाई छद्म साम्राज्यवाद पनि भन्न सकिएला । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले एमालेको धारालाई लामो समयदेखि संसोधनवादी धारा मान्दै आएको थियो र त्यो सही थियो । त्यसमा माओवादी केन्द्र मिसिएपछि पनि त्यो पहिलेजस्तै हो । अहिलेको सरकारी नेकपा प्रष्ट रुपमा संसोधनवादी पार्टी हो ।संसोधनवाद भनेको मार्क्सवादको सिरक ओढेर पूँजीवादको सेवा गर्ने विचार हो । आजको नेकपाले त्यही गरिरहेको छ । नेपालमा यौटा भयानक विभ्रमले लगातार शासन गरिरहेको छ । त्यो विभ्रम हो- संसोधनवादलाई प्रगतिशील देख्ने विभ्रम ।एमाले दशकौंदेखि संसोधनवादी थियो । तर उसको सांस्कृतिक मोर्चालाई प्रगतिशील मानिन्थ्यो ।ऊसँग सहकार्य गरेर बनाइएका मोर्चाहरूलाई प्रगतिशील मानिन्थ्यो/मानिन्छ ।प्रगतिशील लेखक संघ त्यसको एउटा उदाहरण हो । हो, केही व्यक्ति प्रगतिशील हुन सक्छन । लामो सहकार्य र लगानीको कारणले एमाले छोड्न नसकेका तर संसोधनवादमा पतन हुन मनले नमानेका श्रष्टाहरू एमालेभित्र पनि थिए । तर राजनीतिक रुपले संसोधनवादी पार्टीमा संगठित भएका र विभिन्न जिम्मेवारी बहन गरिरहेका अनि पार्टीको संसोधनवादी नीति र नेतृत्वको समर्थन गरिरहेकाहरू एकाध रचनाको आधारमा प्रगतिशील हुन्छन कि हुदैनन भनेर सोच्नै पर्छ ।
मेरो विचारमा हरेक संसोधनवादीहरू सारमा प्रतिकृयावादी हुन्छन। तिनीहरूले एकाध प्रगतिशील कुरा गरे भने त्यो प्रतिकृयवादी सारतत्वलाई छोप्ने नाटक मात्र हुन्छ ।मार्क्सवादले हामीलाई सिकाएको अकाट्य कुरा के हो भने बनिबनाऊ प्रतिकृयावादी राज्यसत्तालाई उपयोग गरेर क्रान्ति गर्न सकिन्न ।त्यसैले त्यसलाई बलपूर्वक भत्काउँनु पर्छ। तर संसारभरका संसोधनवादीहरू वल प्रयोगका विरोधी हुन्छन ।नेपालका संसोधनवादीहरू पनि ठ्याक्कै त्यस्तै छन। मार्क्सदेखि माओसम्म सवैको समकालीन संसोधनवादीहरूसँग जीवन मरणको संघर्ष भयो । तर नेपाल त्यो मामलामा अनौठो छ । यहाँ युध्दबाट आएको यौटा शक्ति संसोधनवादलाई अँगाल्न पुग्यो । हालको नेकपा समेत सामेल रहेको प्रलेसको बचाऊमा नेपालका मुर्धन्य मार्क्सवादी विचारक मानिएका मोहन वैद्य लागेको देखिन्छ ।त्यति मात्र होइन वर्तमान व्यवस्थालाई प्रतिकृयावादी घोषणा गरेर विद्रोहको अवस्थामा रहेको विद्रोही नेकपाको सांस्कृतिक संगठन समेत वर्तमान प्रलेसको बचाऊमा अरुभन्दा एक कदम अगाडि छ । यी सवै परिघटनाहरू देखिसकेपछि मनमा स्वभाविक प्रश्न उठ्छ- के संसोधनवाद पनि प्रगतिशील हुन्छ ? मैले प्रलस नामको संस्थाको औचित्य त्यत्तिकै छैन भनेको होइन । प्रगतिशील खालका साहित्यिक संस्था चाहिन्छ ।तर त्योभन्दा पहिला अहिलेको सरकारी नेकपा प्रगतिशील हो कि प्रतिगामी हो भनेर टुङ्गोमा पुग्नु पर्छ । त्यो पार्टी प्रतिगामी हो भने त्यो पार्टीको संस्थागत प्रतिनिधित्व गरेर आउनेहरू प्रगतिशील हुदैनन । आफ्नो पार्टीको दस्तावेजले जुन पार्टीलाई प्रतिकृयावादी ,गद्दार , साम्राज्यवादको एजेन्ट भनेर घोषणा गर्छ , त्यो कुरा पनि मान्ने अनि त्यही पार्टीको जनवर्गीय संगठनलाई प्रगतिशील मानेर सहकार्य पनि गर्ने कुरा आफैंमा हाँस्यास्पद हुन्छ र अन्तत: त्यो पनि मिहिन खाले संसोधनवादी सोच नै हुन्छ ।मैले यसो भनेर कुनै समुहलाई चिढ्याउँन खोजिरहेको छैन। मेरो उद्देश्य सिध्दान्तको प्रश्नमा मोलमोलाई नगरौं भन्ने हो ।संवन्धित संस्थाहरूले विना उत्तेजना यो वारेमा सोचून ।प्रलेसको राष्ट्रिय सम्मेलन पनि आइरहेको संदर्भमा म पनि यो सानो बहसमा मिसिएँ ।