पूर्व-प्राज्ञसँग अनलाइन ( लघुकथा) – बलराम तिमल्सीना

२०७५ पुष ५ गते, बिहीबार

“हेलो हजुर फलानो पूर्व प्राज्ञ पर्नु भयो हो ?” फोन उठाएपछि उताबाट कोही बोल्छ । फोन उठाउँने पूर्व प्राज्ञले जवाफ दिन्छन- “हो , किन होला ? तपाई को पर्नु भयो ?” फोन गर्ने मान्छेले भन्छ- ” म फलानो अनलाइनबाट हो । त्यो प्रतिष्ठानमा महेन्द्रको शालिक बनाएर फेरि राखिएको छ भन्ने कुरा के रैछ भनेर बुझ्नु थियो तपाईसँग !” पूर्व प्राज्ञ एक छिन मौन बस्छन । के जवाफ दिने दिने भनेर उनी रन्थनिन्छन ।त्यसपछि बोल्छन- ” हेर्नोस मलाई यो वारेमा थाहा भएन । थाहा भए पनि बोल्न मिल्दैन ।बोले पनि हो भन्न मिल्दैन ।हो भने पनि विरोध गर्न अझ मिल्दैन । थाहा छैन भनेर लेखिदिनोस ।” अनलाइन वाला छक्क पर्छ । काठमाण्डौमा घर भएर घर भाडा लिएका सभासदहरूले मलाई घर भाडा लिएकै थाहा भएन भनेजस्तै चार वर्ष जागिर खाँदा पटक पटक आफ्नै आँखाले देखेको शालिक वारे राजनीतिक नेतृत्वलेजस्तै सिधै ढाँट्नु पर्दा पूर्व प्राज्ञलाई हल्का अनइजी महसुस भैरहेको हुन्छ ।अनलाइन वालाले फेरि सोध्छ- ” हैन प्राज्ञ ज्यु ! चार चार वर्ष त्यहाँ बस्दा पटक्कै थाहा पाउँनु भएन त ? फेसवुकमा फोटो सहित आइसक्यो त ?” प्राज्ञले अलि कडक भाषामा जवाफ दिन्छन- ” मैले पहिलो जवाफमै भनिसकेको छु ।त्यही लेखिदिनोस ।” अनलाइन वालाले भन्छ- ” भनेपछि ‘थाहा छैन, थाहा भए पनि बोल्न मिल्दैन, बोले पनि हो भन्न मिल्दैन र हो भने पनि विरोध गर्न मिल्दैन’ भनेर लेखिदिऊँ त ?” प्राज्ञ झोक्किदै बोल्छन-” तपाईलाई मैले जे लेख्नु भनेको छु त्यही लेख्नुस न । बढी करकार गर्ने तपाई को हँ ?” अनलाइन वालाले फोन राख्छ । पूर्व प्राज्ञ मनमनै सोच्छन – ” एक कान दुई कान भएर अव यो शालिक प्रसंगले बजार तताउँछ । थाहा छैन त भनियो ।के पो गर्ने होला ?” उनले आफूसँगै रिटायर्ड अरु प्राज्ञहरूलाई फोन गरेर सल्लाह लिन्छन।प्रायले ऐले नबोल्नु नै वुध्दिमानी हुन्छ भनेर सल्लाह दिन्छन । चार चार वर्ष सरकारको दाना पानी खाएपछि अलिकति गोपनियताको ख्याल त गर्नै पर्यो ।प्राज्ञको दिमागमा यस्तो दिव्य ज्ञान फुर्छ ।भोलि पल्ट अन लाइनहरूमा समाचार छापिन्छ- ‘ प्रज्ञा प्रतिष्ठानमा गोप्य रुपमा महेन्द्रको शालिक अनावरण । पूर्व प्राज्ञले भने’- ” मलाई थाहा छैन, थाहा भए पनि बोल्न मिल्दैन, बोले पनि हो भन्न मिल्दैन र हो भने पनि विरोध गर्न मिल्दैन !”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार