ट्रम्पले इराकमा कार्यरत अमेरिकी सैनिकसँग क्रिसमस मनाए

२०७५ पुष १२ गते, बिहीबार

काठमाडौं, १२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसरमा इराकमा रहेका अमेरिकी सैनिकसँग भेट गरेका छन् । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमविना इराक पुगेका हुन् । उनको साथमा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प पनि थिइन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प क्रिसमसको दिन अबेर साँझ इराक पुगेका थिए । उनी इराकमा कार्यरत सैनिकले गरेको सेवा, सफलता र बलिदानको लागि धन्यबाद दिन गएको ह्वाइट हाउसले जनाएको छ ।
समाचार संस्था रोयटर्सले त्यसक्रममा ट्रम्पले इराकबाट अमेरिकी सैनिक हटाउने कुनै योजना नभएको बताएका थिए । मध्यपूर्वको रणनीतिमा मतभेद भएर केही दिन अघि रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिएलगत्तै राष्ट्रपति ट्रम्पको यो भ्रमण भएको हो । ट्रम्पको साथमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टन पनि थिए । ट्रम्पले सैनिकहरुसँग करिब तीन घण्टा विताएका थिए । त्यस क्रममा सैनिकहरुले राष्ट्रपति ट्रम्पसँग सेल्फी पनि खिचेका थिए । इराकमा अहिले पनि अमेरिकाका करिव ५ हजार सैनिक कार्यरत छन् । उनीहरुले इराक सरकारलाई इस्लामिक स्टेटविरुद्धको लडाइँमा सहयोग गरिरहेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]