‘निर्मलाका हत्यारालाई जन सरकारले कारबाही गर्छ ‘

२०७५ पुष १२ गते, बिहीबार

काठमाडाै‌, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले निर्मला पन्तको हत्यारालाई जन सरकारले कारबाही गर्ने बताएका छन् । बिहिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएको बताउँदै जन सरकारले कारबाही गर्ने बताएका हुन् । प्रकाण्डले भने ‘समय दिनुस्, हामी कारबाही गरेर देखाउँछौं’ । नेकपाभित्र नेताहरुको दृढ एकता भएकाले अन्य दलका नेताहरुलाई छटपटाहट भएको हुनाले उनीहरुले प्रकाण्ड र बिप्लबबीचको एकता टुटाउन भ्रम फैलाउने गरेको पनि प्रवक्ता प्रकाण्डले बताए । उनले प्रकाण्डलाई विप्लबले नै पक्राउ गर्न लगाएको भन्ने हल्ला निराधार रहेको बताए । प्रकाण्डले आफ्नो पार्टीको चन्दा असुली गर्ने नीति नरहेको बताएका छन् । उनले पार्टीको गतिविधि सञ्चालनका लागि राष्ट्रिय पुँजिको पक्षधर उद्योगी व्यवसायीहरुबाट स्वैच्छिक सहयोग लिएको दावी गरेका छन् ।
प्रकाण्डले असमान सन्धी सम्झौता खारेज गरी राष्ट्रिय स्वाधिनता सहितको जनसत्ता स्थापनाका लागि नेकपाले क्रान्ति गरिरहेको बताएका छन् । उनले सो आन्दोलनको बारेमा भारतीय र अमेरिकी लगायत विदेशी र नेपालीहरुलाई जानकारी दिइरहेको बताए । सोही क्रममा भारतीय र अमेरिकी अधिकारीसंग विप्लबको भेट भएको बताउँदै उनले नेकपा कुनै पनि विदेशी शक्तिबाट परिचालित नभएको बताए ।
भारतीय र अमेरिकीसंग प्रधानमन्त्री केपी शर्माओलीको केहि कुरा नमिलेको भएको हुनाले उनको नेतृत्वको सरकार विगठन गरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार ल्याउने खेल भइरहेको प्रकाण्डले टिप्पणी गरे । उनले संसदवादी दलहरु विदेशी शक्ति केन्द्रको गोट्टी भएको समेत ठोकुवा गरे । समाजवाद स्थापना र विकास वर्तमान राजनीतिक दलबाट सम्भव नरहेको बताउँदै प्रकाण्डले नेकपाले चलाएको एकीकृत जनक्रान्तिबाट मात्रै सम्भव रहेको बताएका छन् । उनले देशमा नयाँ जनपक्षीय सत्ता स्थापना गर्नका लागि नेकपाले एकीकृत जनक्रान्ति गरिरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]