ट्रम्पले दिए मेक्सिकोको सीमामा पर्खाल लगाउने धम्की

२०७५ पुष २१ गते, शनिबार

काठमाडौं, २१ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन संसद्ले बजेट नछुट्याए आफूले कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान लिएका छन् । उनले दुई सातादेखि आंशिक रुपमा प्रभावित हुँदै आएको सरकारी कामकाज वर्र्षांैंसम्म पनि लम्बिन सक्ने चेतावनी दिए ।
डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने विषयलाई कंग्रेसले बेवास्ता गरे राष्ट्रिय आपतकालको घोषणासमेत गर्न सकिने बताए । उनले पर्खाल लगाउन बजेट विनियोजन नगरे कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान व्यक्त गरे । तर डेमोक्रेटिक पार्टी भने पर्खाल लगाउन बजेट विनियोजन नगर्ने पक्षमा छ । यही विवादका कारण अमेरिकाका ८ लाख संघीय कर्मचारीले गत डिसेम्बर २२ देखि तलवसमेत पाएका छैनन् । यो विवाद सुल्झाउन ह्वाइट हाउसमा भएको बैठकको सुरुमा राष्ट्रपति ट्रम्पले सकारात्मक कदम भएको प्रतिक्रिया दिएका थिए । तर, एक पत्रकारले सोधेको प्रश्नमा उनले आवश्यक परे संघीय एजेन्सीहरुलाई केही वर्षसम्म बन्दसमेत गर्ने चेतावनी दिएका हुन् । उनले देशको शान्ति सुरक्षाका लागि आफू जेसुकै गर्न पनि तयार रहेको बताए ।
बैठकपछि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले गतिरोध अन्त्यका लागि भएको बैठक विवादग्रस्त भएको बताए । उनले संघीय सरकारको कामकाज सुचारु गर्न आफूहरु सकारात्मक भए पनि राष्ट्रपतिको अडानले अप्ठेरो पारेको प्रतिक्रिया दिए । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]