वर्तमान राज्यसत्ताको विकल्प खोज्ने बहस आबश्यक – बलराम तिमल्सीना
मूख्य प्रश्न राज्यसत्ताको हो । राज्यसत्ताको प्रश्नमा पिठ्युँ फर्काएर यही सत्ताभित्रका यो या त्यो राजनीतिक गुटको मुख ताकेर केही पनि हुने वाला छैन । अहिलेको राज्य सत्ता दलाल तथा नोकरशाह पूँजीपतिहरूले चलाएको सत्ता हो । सरकारको नेतृत्व गरिरहेका या प्रतिपक्षमा रहेका संसदीय दलहरू यही सत्ताका चुत्था नोकर मात्र हुन। बाहिर हेर्दा प्रधानमन्त्री, मन्त्री तथा सभासदहरू धेरै शक्तिसाली देखिन्छन।तर ती सवै यो व्यवस्थाले हायर गरेका अस्थायी कर्मचारीहरू मात्र हुन।तिनीहरूले चुनावमा भोट बटुल्न जे जे कुरा गरे पनि खासमा तिनीहरूले राज्यसत्ताका मालिकहरूको सेवा गर्ने हो ।त्यसै कारणले आफूलाई कम्युनिष्ट भनेर परिचय दिन चाहने राजनीतिक दलको अत्यधिक बहुमतको सरकारले एक वर्षमा प्रदर्शन गरेको गतिविधि एति धेरै निराशाजनक हुन पुगेको हो ।
त्यसैले अव हामीले सरकारका दैनिक कामका चर्चा गरेर समय खेर फाल्नु भन्दा वर्तमान राज्यसत्ताको विकल्प खोज्ने दिशातिर बहस गर्नु जरुरी छ। त्यसको लागि संसदीय पूँजीवादी व्यवस्थाले श्रमिक तथा उत्पीडित जनताको प्रतिनिधित्व गर्दैन भनेर मान्ने नयाँ जनवादी या समाजवादी क्रान्तिको कुरा गर्ने कम्युनिष्ट शक्तिहरू एक हुन जरुरी छ। एक हुने कुराको थालनी कमरेड किरणले नेतृत्व गरेको नेकपा( माओवादी क्रान्तिकारी) र कमरेड विप्लवले नेतृत्व गरेको नेकपाबाट सुरु गर्नु उपयुक्त हुन्छ । अवको क्रान्ति नयाँ जनवादी कि समाजवादी भन्ने बहसलाई आन्तरिक रुपमा घनिभूत बहसबाट टुङ्गोमा पुग्न सकिन्छ ।कमरेड किरणले संसदीय चुनावतिर चोपलेको खुट्टो झिक्ने र कमरेड विप्लवले तत्काल फौजी संघर्ष थल्ने सोचलाई स्थगित गर्न जरुरी छ। अवका तीन चार वर्ष एकता रुपान्तरण संगठन विस्तार र देशव्यापी प्रचारमा खर्च गर्न जरुरी छ।
अवको चार वर्षपछि अर्को संसदीय चुनाव आउँछ ।त्यो चुनावमा अहिलेको सरकारी नेकपाको हालत गएगुज्रेको हुनेछ। अहिलेको काङ्ग्रेसले आफूलाई खसै उकालो लाउन सक्ने संभावना देखिदैन । अलिअलि राप्रपा, अलिअलि विवेकशील र मधेशी दलले सीट बढाउँछन ।तर कसैको बहुमत नहुने हङ पार्लियामान्ट बन्ने संभावना छ। जनताहरको गणतन्त्रले तै केही गर्छ कि , कम्युनिष्ट भन्नेले केही गर्छन कि भन्ने भ्रम पनि धराशायी हुनेछ ।चौतर्फी असन्तुष्ठी र आक्रोस बढ्ने छ।ठीक त्यही बेलामा पुराना प्रतिगमनकारीहरूले जनतालाई विगततिर फर्काउने षडयन्त्रलाई तिव्रता दिने छन भने त्यो वेलासम्म बैचारिक राजनीतिक र संगठनात्मक हिसावले सक्षम बनेर क्रान्तिकारीहरूले जनताको त्यो आक्रोसलाई विद्रोहमा बदल्ने र त्यसको नेतृत्व गर्ने तयारी गर्नु पर्छ।
मेरो विचारमा अवको क्रान्ति समाजवादी क्रान्ति हुने छ र विद्रोह नै संघर्षको मूल रुप हुने छ।त्यसैले बीसौं तीसौं वर्षको छापामार युध्दबाट सत्ता जित्ने मोडल होइन मूलत रुशी मोडलतिर बढी सोच्नु उपयुक्त हुन्छ।आजको एक्काइसौं सताव्दिको फेरवदलले क्रान्तिको स्वरुपमा के के हेरफेर गर्नु पर्ला भनेर गंभीर विमर्श गर्न भने जरुरी छ। जति विमरश गरे पनि एउटा कुरा अकाट्य हो कि- राज्यसत्तालाई वलपूर्वक ध्वंश नगरी र क्रान्तिपछि सर्वहारा वर्गको अधिनायकत्वलाई सुदृढ नगरी हुने वाला छैन।
क्रान्तिमा वल प्रयोगको अनिवार्यता , सर्वहारा अधिनायकत्व र सांस्कृतिक क्रान्तिको अनिवार्यता यी तीन कुरा नै हामीलाई मार्क्सवादी र संसोधनवादी छुट्याउँने सीमा हुन। यी तीन कुरामा सहमति भयो भने वाँकि कुरा आन्तरिक छलफलबाट हल गर्ने उद्देश्य सहित क्रान्तिकारीहरू मिल्नुको विकल्प छैन।समाजवादी क्रान्तिको कार्यभार संसदमा डुवेका संसोधनवादी गद्दारहरूबाट पूरा हुने कल्पना पनि गर्न सकिन्न । बरु त्यसको उल्टो कम्युनिष्ट आन्दोलनमा संसोधनवादीहरूलाई संघर्षका हरेक मोर्चामा परास्त नगरी क्रान्तिकारीहरूको एकता र समाजवादको तयारी गर्न नै असंभव छ।
आफैंभित्रका संकीर्णतासँग जुध्दै क्रान्तिकारी कम्युनिष्टहरूको एकतालाई सफल पारौं ।मालेमावादलाई अझ राम्रोसँग पक्रदै नेपाली समाजवादी क्रान्तिको तयारीलाई गंभीरतापूर्वक अघि बढाऊँ ।