बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाहीको माग

काठमाडौं, २३ पुस । नेकपा (क्रान्तिकारी माओवादी) विरोध प्रदर्शनमा उत्रिएको छ । ‘बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाही गर, कमरेड सुरेश तामाङलाई अविलम्ब रिहाई गर’ लेखिएको मूल व्यानरसहित क्रान्तिकारी माओवादी विरोध प्रदर्शनमा उत्रिएको हो ।
क्रान्तिकारी माओवादी ३ नं. प्रदेशको आयोजनामा गरिएको विरोध प्रदर्शनमा ‘माओवादी आयो, भ्रष्टाचारीहरु –होशियार’, भ्रष्टाचारीहरुलाई –कारबाही गर, कमरेड सुरेश तामाङलाई– रिहा गर, भ्रष्ट सरकार –मूर्दावाद, निर्मला पन्तका हत्याराहरुलाई –कारबाही गर, राष्ट्रिय स्वाधीनताको –रक्षा गरौं, सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरु –खारेज गर, भारतीय विस्तारवाद– मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) –जिन्दावाद लगायतका नाराहरु लगाइएका छन् । रत्नपार्क शान्तिबाटिकाबाट सुरु गरिएको विरोध ¥याली सुन्धरा, नेपाल वायुसेवा निगम, न्यूरोड, विशालबजार हुँदै इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा, पार्टी केस शारदा महत, हरिकृष्ण गजुरेल, भक्तपुर पार्टी इन्चार्ज भरत बुर्जालगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टी केस तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठले गरेका थिए । वक्ताहरुले ओली नेतृत्वको सरकार भ्रष्ट र दलालहरुको सरकार भएको भन्दै यो सरकारका विरुद्ध जनताले विद्रोह गर्ने बेला आएको बताएका छन् ।