वैदेशिक रोजगार कार्यालयबाट ७ जना विचौलिया पक्राउ
काठमाडौं, २४ पुस । महानगरीय प्रहरी परिसर, काठमाडौंले वैदेशिक रोजगार कार्यालय ताहचलमा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । त्यस्तै भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङ रहेको प्रहरीले जनाएको छ ।
विभागमा सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेलगत्तै श्रम कार्यालयललाई विचौलियामुक्त पार्ने अभियान सञ्चालन गरेका थिए । उनकै सक्रियतामा गृहमन्त्रालयले प्रहरीको एक युनिट श्रम कार्यालयमा खटाएको थियो ।