‘येलो भेस्ट’ प्रदर्शनकारी सडकमा
काठमाडौं, ३० पुस । फ्रान्समा फेरि ‘येलो भेस्ट’ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । शनिबार उनीहरु सडकमा निस्केपछि करिब ८० हजार प्रहरी तैनाथ गरिएको थियो । ती मध्ये ५हजार प्रहरी अधिकृृत मात्रै थिए । येलो भेस्ट प्रदर्शनकारीहरु लामो समयदेखि राष्ट्रपति इमानुएल म्याक्रोनको आर्थिक नीतिको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् । खासगरी सरकारले इन्धनमा गरेको करको नयाँ व्यवस्थाका कारण आक्रोशित भएका हुन् । राष्टपतिले सो नीति स्थगन गरेपनि उनीहरुले प्रदर्शन छोडेका छैनन् । प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर तितरबितर पार्ने प्रयास गरेको थियो । हजारौ प्रदर्शनकारीले हल्ला गर्दै प्रदर्शन गरेपनि प्रदर्शन भने शान्तिपूर्ण नै रहेको थियो । शनिबार बिहानै ग्राण्डस बाउलीभार्डस क्षेत्रको एउटा बेकरीमा ग्यास विस्फोट हुँदा ३ जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएका थिए । त्यसको छेऊबाटै प्रदर्शनकारी गएका थिए ।
संसद र राष्ट्रपति भवनबाहिर कडा सुरक्षा व्यवस्था गरिएको थियो । उनीहरुले राष्ट्रपति म्याक्रोनलाई पदबाट ओरालेर छोड्ने जस्ता नारा लगाएका थिए । प्रदर्शनका कारण पेरिसका गतिविधि लगभग ठप्प थियो । प्रदर्शनकारीले पहेंलो ज्याकेट लगाएर प्रदर्शन गर्ने गरेका कारण उनीहरुको नाम नै येलो भेस्ट राखिएको हो ।