चर्काे करको कारण जनतालाई सास्ती, तुरुन्त सच्याउन माग

काठमाडौं , ८ माघ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले विभिन्न बैंक तथा संस्थाहरुबाट जनतामा ऋण प्रवाहकाे नाममा जनताबाट असुल्दै गरेको चर्काे ब्याज र कथित स्थानीय सरकारकाे नाममा चर्काे कर कारण जनताले सास्ती खेप्नुपरेको लगायतका जनसरोकार जनजीविकाकाे विषयमा सम्बन्धित पक्षलाई तुरुन्त सच्याउन माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी कालिकोटका सेक्रेटरी रणदिपले एक विज्ञप्ति जारी वित्तीय बैंकहरु सेवामूलक भन्दा पनि नाफामूलक भएकोले असुल गर्दै गरेको चर्काे ब्याज तुरुन्त घटाउनुपर्ने, जिल्लामा भइरहेको मदिरा बेचबिखन र सेवन राेकिनुपर्ने, कथित स्थानीय सरकारकाे नाममा विभिन्न बहानामा जनताबाट असुल्दै गरेको चर्काे कर , जनताकै नाम लिएर हुने भ्रमण जस्ता क्षेत्रमा हुने फजुल र सामान खरिद डाेजर अातंकमा भइरहेको भ्रष्टाचार, कमिसन र अनियमितता नराेकिए कडा संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, थारुवान जनपरिषद् कैलालीले कथित स्थानीय सरकारले अनियन्त्रित रूपमा जनताको डाढ सेक्ने गरी लादिएको महँगी कर सङ्कलन, किसानले उत्पादन गरेको अन्नबाली, माटो, बालुवा उत्खनन व्यवसायीहरूमा लिने कर तुरुन्त बन्द गर्न आग्रह गरेको छ । जनपरिषद्ले अन्य कुनै पनि ठाउँमा त्यसप्रकारका जनताबाट कर असुली गर्ने ठेकेदारलाई जनपरिषद्ले कडा कारबाही गर्ने पनि बताएको छ । जनपरिषद् कैलालीका प्रमुख करणले मङ्लगबार प्रेसविज्ञप्ति जारी गर्दै देशमा स्थायी शान्ति, समृद्धि र स्वाधीनताका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको पार्टीका नेता अरुणलाई बिनाकारण षड्यन्त्रमूलक तरिकाले गिरफ्तार गर्न लगाएको विषयमा पनि विरोध र भत्र्सना गरेको छ । साथै उक्त गिरफ्तारी गर्न लगाई आफ्ना नेताकार्यकर्ता र जनतामा आतङ्क उत्पन्न गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनपरिषद्ले जनाएको छ । विज्ञप्तिमा उक्त कार्य नगर्न सम्बन्धित गाउँपालिकाका नेताहरूलाई आग्रह गरिएको छ । यस्ता हर्कतहरू परिवर्तन नगरेमा जनपरिषद् नेपालले कडा जनकारबाही गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।