राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित
काठमाडौं , ११ माघ । संघीय संसदले राष्ट्रिय चिकित्सका शिक्षा विधेयक पारित गरेको छ । नेपाली काँग्रेसका सांसदहरुको अवरोध र होहल्लाबीच सो विधेयक पारित भएको हो । नेपाली काँग्रेसले आफ्ना नेताद्वयको नाममा खुलेका अस्पताल खारेज गर्न खोजेको भन्दै आज पनि संसद वैठकमा अवरोध पु-याएको थियो । प्रमुख प्रतिपक्षी काँग्रेसले पूर्व घोषित कार्यक्रम अनुरुप नै संसद अवरुद्ध गरेको हो । नेपाली काँग्रेसका दुई स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न खोजेको भन्दै संसद गर्दै आएको अवरोधलाई आज पनि निरन्तरता दिएको थियो । संसदको वैठकको आजको कारवाही सुरु भए लगत्तै काँग्रेसका सांसदहरु आआफ्नो आसनबाट उठेका थिए । सांसदहरु उठे लगत्तै सभामखु कृष्णबहादुर महराले काँग्रेस सचेतक पुष्पा भुषाललाई बोेल्नका लागि समय दिनु भएको थियो । भुषालले सरकार पूर्वाग्रही भएर पेश भएको भन्दै सरकारले निर्णय फिर्ता लिनु पर्ने अडानबाट काँग्रेस पछि नहट्ने बताउनु भएको थियो । भुषालले बोले लगत्तै काँग्रेस सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गरेका थिए । काँग्रेस सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर ’ भन्दै नारा लगाएका थिए ।
काँग्रेस सांसदको अवरोधबीच सभामुख महराजले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा विधेयक पेश गर्न अनुमति दिनुभएको थियो । अनुमति पाए लगत्तै काँग्रेस सांसदहरुको होहल्लाबीच शिक्षामन्त्री पोखरेलले विधेयक पेश गर्नु भएको थियो । शिक्षामन्त्री पोखरेललाई मर्यादापालकहरुले सुरक्षा दिएर रोष्ट्रममा पु¥याएका थिए । मन्त्री पोखरेलले विधेयक पेश गरेपछि ध्वनी मतको आधारमा विधेयक पास भएको जानकारी सभामुख महराले संसदलाई गराउनु भएको थियो । विधेयक पारित भएको घोषणा लगत्तै संसदको वैठक माघ १७ गते सम्मका लागि स्थगित गरिएको छ ।