मनपरी शुल्क असुल्दै निजी अस्पताल, सरकारी अनुगमन शून्य
काठमाडौं,१२ माघ । प्रयोगशालामा स्वास्थ्य परीक्षण गरे बापत निजी अस्पतालले चर्को शुल्क लिँदा सेवाग्राही मारमा पर्दै आएका छन् । चर्को शुल्ककै कारण सर्वसाधारणले राम्रोसँग उपचार गर्ने अवस्थासमेत छैन । सरकारले प्रभावकारी अनुगमन नगर्दा निजी अस्पतालले प्रयोगशालामा स्वास्थ्य परीक्षण बापत मनपरी ढंगले शुल्क असुलिरहेका छन् । निजी अस्पतालको प्रयोगशाला शुल्क अत्यधिक भएपछि सर्वसाधारण बिरामी सरकारी अस्पताल धाउन बाध्य छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा शुल्क निर्धारण समिति रहे पनि सो समिति निष्क्रियप्रायः छ । स्वास्थ्य मन्त्रालयका नीति तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले निजी अस्पतालका प्रयोगशालाले लिने शुल्कको मूल्य निर्धारण गर्न नसकिएको स्वीकार गरे । केही समयभित्रै शुल्क निर्धारण गर्दै अनुगमनलाई सशक्त रूपमा अघि बढाइने उनको दाबी छ । निजी अस्पतालले ‘प्रयोगशाला र एक्सरे’ शुल्कमा मनपरी रकम असुल्न थालेपछि बिरामीहरु सरकारी अस्पताल धाउन बाध्य भएका हुन् । निजी अस्पतालमा चिकित्सकसँग स्वास्थ्य उपचार गराए पनि प्रयोगशाला परीक्षणका लागि उनीहरु सरकारी अस्पतालतर्फ धाउने गरेको देखिएको छ । निजी अस्पतालका प्रयोगशालाकोे स्वास्थ्य परीक्षण शुल्क निकै महँगो हुँदा बिरामी सरकारी अस्पतालतर्फ आकर्षित भएका हुन् ।
उपत्यकाका निजी अस्पतालको प्रयोगशालाको स्वास्थ्य परीक्षण शुल्कमा समेत एकरूपता छैन । एउटै प्रकृतिका स्वास्थ्य परीक्षणको शुल्क अस्पतालपिच्छे फरकफरक देखिएको छ । तर, यसमा सरकारी निकाय मौन छ । निजी अस्पतालले प्रयोगशाला परीक्षण बापत चर्को शुल्क लिँदा सो सेवाका लागि बिरामीहरु वीर अस्पताल, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शिक्षण अस्पताल महाराजगन्जलगायत विभिन्न सरकारी अस्पताल पुग्ने गरेका छन् ।
सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा प्रयोगशालाको स्वास्थ्य परीक्षण शुल्कमा एकरूपता आउन नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । सरकारले अहिलेसम्म प्रयोगशाला परीक्षण शुल्क निर्धारणसम्बन्धी मापदण्ड तय गरेको छैन । जसका कारण निजी अस्पतालले मनपरी शुल्क लिँदै आएका छन् ।- प्रशान्त वली ,राजधानी दैनिक