नेकपामाथिको निगरानी र दमन निन्दनीय
देशमा दुई तिहाइको बहुमत प्राप्त सरकार छ । तर, सरकारको काम कारवाही हेर्ने हो भने देश र जनताप्रति जवाहदेही हुनुभन्दा द्वन्द्व निम्त्याउनेतिर अग्रसर भएको पाइन्छ । सरकारले हालै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको घरमा पक्राउपुर्जी टाँस गरेको छ । देशमा भ्रष्टाचार, बलात्कार, कालोबजारीको नियन्त्रण हुनुप¥यो, आमजनताले सहज र सरल तरिकाले जीवनयापन गर्न पाउनुप¥यो र देशमा वैदेशिक हस्तक्षेप बन्द हुनुप¥यो भन्दै आन्दोलनमा उत्रिएका पार्टी र त्यसका नेतामाथि सरकारी पक्षले गरेको निगरानी, धरपकड र मुद्दा आफैँमा निन्दनीय र घृणित कार्य हो । सरकारको यस प्रकार कार्यशैलीले आमसचेत नागरिक रुष्ट बनेका छन् ।
देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आन्दोलनरत पार्टी र उसको नेतालाई गलत हत्कण्डा प्रयोग गरेर सिध्याउने सरकारको रणनीति स्वयम् सरकारकै लागि आत्मघाती हुने देखिन्छ । किनकि सरकारले देश र जनताको हितमा न्यूनतम कार्य गर्न नसकेकोले नै नेपाल कम्युनिस्ट पार्टी आन्दोलनमा उत्रिएको जगजाहेर छ । देश र जनताको पक्षमा उत्रिएको पार्टी र त्यसका नेतालाई घेराबन्दी गर्ने, दमन गर्ने र देश र जनतालाई भड्खालोमा हाल्ने सरकारको रणनीति कुनै पनि सचेत नागरिकको लागि पाच्य हुने विषय होइन ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीले उठाएको एजेण्डालाई आत्मसात गरी उसँग हातेमालो गरी अगाडि बढ्नु बुद्धिमानी हुन्छ । तर, सरकार देशी, विदेशी प्रतिक्रान्तिकारीको गोटी बनी राष्ट्रियता, स्वाधीनता र जनजीविकाका पक्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीलाई सिध्याउन तल्लिन देखिन्छ, जुन देश, जनता र स्वयम् सत्तापक्ष दल र तिनका नेताहरुलाई हानिकारक हुने ध्रवसत्य देखिन्छ । विश्वको कुनै पनि इतिहासमा देश र जनताप्रति समर्पित र संघर्ष गरेको पार्टीको अस्तित्व नामेट भएको छैन । बरु, देश र जनताको पक्षमा उत्रिएका दल र नेताहरुलाई सिध्याउन मरिहत्ते गर्न दल र नेताहरुको अस्तित्व नामेट भएको देखिन्छ । तसर्थ, सरकारले नेपाल कम्युनिस्ट पार्टी र त्यसका नेतामाथिको कुकृत्य तत्काल बन्द गर्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टीसँग हातेमालो गर्दै देश र जनताका पक्षमा उभिनु नै वर्तमान सरकार, सत्तासीन दल र तिनका नेताहरुलाई हितकर हुन्छ । अन्यथा स्थिति भयावह हुने निश्चित छ, चेतना भया ।