मेरो खुशी – श्यामबहादुर बोहरा

भन तिमी कहाँ छौ अचेल ?
ए मेरो खुशी !
तिमी कहाँ हरायौ ?
मलाई स्तब्ध किन गरायौ ?
अनायासै चटक्क छाडेर मलाई
तिमी किन वेपत्ता भयौ ?
के थियो मेरो गल्ती, कमजोरी र अपराध ?
अवर्णित मेरा कैयन संकटका समयमा
अनगिन्ती मेरा पीडाका पलहरुमा
अनन्त मेरा अभावका क्षणहरुमा
तिम्रो मैले कति प्रतीक्षा गरे !
तिम्रो स्मरणमा विक्षिप्त वन्दै
म कति पटक रोए !
तिम्रो आगमनको आशा गर्दै
तिमी आउछ्यौ कि भनेर चारै दिशा
आखांहरु डुलाइरहे
तिम्रो प्राप्तिका निम्ति
मैले कति कठोर साधना गरे
तर, तिमिलाई
मैले कहिलै तिम्रो समिपमा पाउन सकिन
तिमीलाइ धुइपत्ताल खोज्दै
मैले जीवनमा अनमोल आँसु, रगत र पसिना पोखें
मेरो अमूल्य जीवन समर्पित गरें
र पनि
तिमी भने
म वाट
झन्–झन् टाढा भाग्दै गयौ
तृलोकहरु ताक्दै गयौ ।
मैले तिमीलाइ खोज्ने
तिमी म वाट भाग्ने
मैले तिमीलाइ चाहने
तिमीले भने मलाइ न रुचाउने
विकट वस्तिका झुपडिहरु सधै
कालो रातले लपेट्ने
तिनी भव्य महलमा मात्र रम्ने
विलासको गीतमा
नर्तकिहरुसंग नाच्ने
यो के शाश्वत नियती हो ?
ए मेरो खुशी !
मेरो जीवन !
मेरो प्राण !
मेरो उषा किरण !
म वेचैनिले घेरिएको छु
वेदनाले वेरिएको छु ।
तिम्रो प्राप्तिका लागि
अब मैले कुन साधना गर्नु पर्ने हो ?
अब मैले कुन मंत्र जप्नु पर्ने हो ?
अब मैले कुन गीत गुन्जनु पर्ने हो ?
तिमीलाई अन्तिम पल्ट भेटेर
तिम्रो स्नेही काखमा टाउको घुसारेर
अजश्र अश्रु धारा वगाउदै
पिडाका पीप निचोर्नुछ
कठिनाइहरुका कथा कहनुछ
संकटहरुको समापन गर्नुछ ।
भन मेरो खुशी !
हाम्रो भेट कहिले हुने हो ?
तिमीलाइ डाकेर
म कति कराए !
तिमीलाइ संझेर म कति रोए !
तिम्रो प्राप्तिकालागी
मनभरी सुन्दर सपनाहरु सजाए !
कालान्तरमा
मनका सुन्दर सपनाहरु
मन भित्रै कति हराए
कति मराए
हासों हराए
उत्साह हराए
उमंग हराए
उर्जा हराए
सन्तुष्टि हराए
सन्तुलन पनि हराउनवाट मुस्किलले वचाए
त्यसैले
तिमी संग
अन्तिम पल्ट भए पनि
भेट गर्ने मन छ
ए मेरो खुशी
आउ मेरो अगाडि
तिमी सामु हिक्क–हिक्क रुदै
तिम्रो न्यानो काखमा
अपुर्व खुशीको याचना गर्नुछ
मानवीयसुख
वास्तविक शान्ति
साचो समानता
समग्रको समृद्धि
र असली स्वतन्त्राका लागि
मैले तिमीसंग
अजेय शक्ति माग्नु छ
तिम्रो प्राप्तिका लागि
म फेरि
अर्को अजंगको पहाड उक्लने
अर्को जोखिमपूर्ण वाटो हिँड्ने
उत्कन्ठा उरालेर उभिएकोछु ।