फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको काम ठप्प
काठमाडाैँ , १६ माघ । पर्याप्त बजेट विनियोजित नहुँदा इलाम सदरमुकाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको काम ठप्प भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५ करोड बजेट विनियोजन गरेको छ । तर विमानस्थल सम्पन्न गर्नको लागि २५ करोड लागत लाग्ने अनुमान गरिएको छ । जसमा धावनमार्ग कालोपत्रेका लागि मात्रै २० करोड रुपैयाँ खर्च चाहिन्छ । नियमित बिमान उडानका लागि टावर, मेची राजमार्गसम्म जोड्ने सडक कालोपत्रे गर्ने लगायतका काम बाँकी नै छन् । पहिले पहिले ठूलो उत्साह भए पनि अहिले निराशा देखिन थालिएको स्थानीय गायत्री गौतमको गुनासो छ । विसं २०५८ सालदेखि निर्माणको चर्चामा रहेको विमानस्थल अझै पनि सम्पन्न हुन सकेको छैन । पर्याप्त पर्यटकीय स्थलहरुको बाहुल्यता रहेको इलाममा सरकारले अन्य पूर्वाधार निर्माणमा पनि खासै चासो देखाएको छैन । पर्यटकीय क्षेत्रको बहुसंभावित इलाममा विमानस्थल निर्माणमा आलटाल गर्नुले यस क्षेत्र पनि प्रभावित भइरहेको छ ।
सरकारले चासोमा राखेर सहयोग गरेमा एक वर्षमै काम सम्पन्न हुने स्थानीयको धारणा छ । धावनमार्गलाई ग्राभेल गर्ने र टर्मिनल भवनलगायत अत्यावश्यक पूर्वाधार वनाउने हो भने एक वर्षमा नियमित उडान गर्न सकिने बताइएको छ ।