सुनकोसीको अनधिकृत दोहन, र्‍याफ्टिङ व्यवसाय संकटमा

२०७५ माघ १८ गते, शुक्रबार

काठमाडौं, १८ माघ । सिन्धुपाल्चोकको सुनकोसी नदीमा बढेको अनधिकृत दोहनले पर्यटन व्यवसाय नै संकटमा परेको छ । केही वर्ष अघिसम्म र्‍याफ्टिङका लागि पर्यटकको घुइँचो लाग्ने सुनकोशीमा नदी उत्खनन् बढेसँगै नदीको स्वरुप नै परिवर्तन हुन थालेको हो । जसले पर्यटन व्यवसाय धरापमा पारेको छ । साहसिक पर्यटन विकासलाई टेवा पुर्‍याउने सुनकोशी नदीमा अहिले अनियन्त्रित र अव्यवस्थित रुपमा नदीजन्य वस्तुको उत्खनन् भइरहेको छ । पर्यटकको घुइँचो लाग्ने ठाउँमा अहिले स्काभेटर र टिपरको घुईचो देखिन्छ । मापदण्ड अनुसार गिटीबालुवा जस्ता नदीजन्य सामग्री नदीको पानी छुने गरी निकाल्न पाइँदैन । त्यस्तै स्काभेटर वा डोजरको प्रयोग गरी नदीको सतहभन्दा १ मिटर गहिरो पार्ने गरी त्यस्ता वस्तु उत्खनन् गर्न पनि पाइँदैन । तर सुनकोशीमा भने यो नियमलाई कुल्चेर मनपरी रुपमा उत्खनन् कार्य भइरहेको छ । जसले गर्दा नदीको धार नै परिवर्तन भएको छ ।
यसले पर्यटन व्यवसायलाई नकारात्मक असर पारेको छ नै, सँगसँगै नदीजन्य प्राणीसमेत लोप हुन थालेका छन् । दोहन बढ्दै जान थालेपछि पर्यटकको आवागमनमा पनि कटौती भइरहेकाले पर्यटन व्यवसायीहरु थप चिन्तित छन् ।
नदीमाथि दोहनलाई नियमन र नियन्त्रण गर्न नसक्दा यो समस्या अझ विकराल बन्ने निश्चित छ । सन् २०१४ मा आठ लाख पर्यटक भित्रिए पनि अहिले यो संख्या १० प्रतिशतमा सीमित भएको सिन्धुपाल्चोक पर्यटन व्यवसायी संघका सचिव मिलन तामाङ बताउँछन् ।
‘पर्यटन व्यवसायमध्ये र्‍याफ्टिङबाट मात्रै सिन्धुपाल्चोकमा ३ सय ८० ले प्रत्यक्ष र १६ सय भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका थिए । पर्यटन व्यवसायलाई आर्थिक विकासको मूल आधार मानेको हाम्रोजस्तो मुलुकले भएका सम्पदाको समेत विध्वंश गर्नु आफैँमा लज्जाको विषय हो । -विजय नेपाल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु