ढापपोखरीमा पर्यटकको चहलपहल
काठमाडौं, २२ माघ । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ । ५० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण ढापपोखरीमा आगन्तुकको आकर्षण बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थानका साथै सीमापारिको दार्जिलिङबाट समेत पर्यटक पुग्न थालेका छन् । पोखरी र पर्यटकको आकर्षणका लागि चन्द्रपाल थेवे ढाप सीमसार संरक्षण तथा पर्यटन विकास समितिले पोखरीमा विभिन्न प्रजातिका ८ हजार माछाका भुरासमेत छाडेको छ । वातावरण सन्तुलन र पर्यटन विकासका लागि पोखरीको विस्तारले ठूलो मद्दत पुगेको सरोकारवालाको भनाइ छ । दलदल अवस्थामा रहेको जमिनलाई पूर्वी मोहोडामा बाँध कसेपछि पोखरी विस्तार भएको हो । पोखरीमा डुंगा सञ्चालनसमेत भइरहेको छ । पोखरीमा पानी भरिएपछि नयाँ प्रजातिका चरा आउन थालेका छन् ।