डोनाल्ड ट्रम्पको फ्रेण्ड रिक्वेस्ट – बलराम तिमल्सीना

२०७५ माघ २२ गते, मंगलवार

नोटिफिकेशन आइकनमा
थिचेको मात्रै के थिएँ
आएको रहेछ फ्रेण्ड रिक्वेस्ट
डोनाल्ड ट्रम्पको
फेस वुकमा !

निकै वेर दोधारमा परें
यसो भनौं- पत्याइँन !
फेक आइडि पनि त हुन सक्छ
यस्तै यस्तै सोचें सोचिरहें
निकै दिन पेण्डिङ्गमा बस्यो रिक्वेस्ट

मन मनै सोचें-
यस्तो रिक्वेस्ट त
उत्तर कोरियाली ठिटाले पठाए पो
फेरि सोचें –
उत्तर कोरियाली ठिटोभन्दा
चम्पुत्ले छन ट्रम्प !

केही दिन पछिको कुरो हो
म्यासेन्जरको आइकनमा
पेण्डिङ्गमा देखिए केही सन्देश
त्यसमध्ये एउटा रहेछ
मिस्टर डोनाल्डकै
लेखिपठाएछन –
“कृपया कवी जी !
मलाई साथी वनाउनोस न
म कविताको क्रेजी हो यार !
मलाई त्यताको कविता खुव मन पर्छ !”

कसरी चाल पाए डोनाल्डले
म पनि कवि हुँ
मैले लेखेका पनि कविता नै हुन
मेरै देशकाले नपत्याएको कवि म
कुरा घुमिरहे मनमा पानी घट्टझैं

आ जे पर्ला पर्ला यस्तो सोचें
र स्विकृति दिएँ साथी बन्न
डोनाल्ड कविता सुन्दै गए
वाह वाही पनि थमाउदै गए
म पनि रमाउदै गएँ
पृथ्वीको नम्वर वान जेन्टल म्यान
जव मेरो कविताको फ्यान बन्यो
म झण्डै झण्डै बगिन
उन्मादको बाढीमा
जसरी बग्ने गर्छन
कृतिम भाउले
मेरो देशका प्राय कवीहरू !

र एक दिन इन वक्समा
एउटा सरप्राइज आयो
गिफ्ट ह्याम्पर
जहाँ लेखिएको थियो
तपाई कवि महोदयलाई
अमेरिका आतुर छ स्वागत गर्न
यहीको वंशज नागरिक सरह
तपाईलाई अधिकार हुने छ
सुख सुविधा ऐस आराम
सवै सवै हुनेछ
तपाईलाई प्राप्त हुनेछ
एउटा भव्य हवेली
केही नोकर चाकर
केही तरुनीहरू
विश्वका वहुचर्चित मदिराहरू
त्यहाँ वसेर तपाईले
लेखिदिनु पर्ने छ
अमेरिकाको लागि कविता !

म विचारमग्न भएँ
सायद यसैगरी छिरे होलान
हाम्रा थुप्रै नागरिक
नागरिकता च्यातेर
अमेरिका
अर्थात ड्रिम कन्ट्री

सरी मिस्टर ट्रम्प
म अमेरिका आउन सक्दिन
मेरो विवेकले
पटक्कै भिसा दिदैन मलाई
म तिम्रो देशको कविता
लेख्न पनि सक्दिन
लेख्दा पनि लेख्दिन
वरू एक दर्जन
मभन्दा नाम चलेका कवीहरू
त्यतै नमस्कार गरेर बसेका छन
तिनीहरूलाई लैजानुस
मैले यस्तो उत्तर दिएँ !

एकाएक रिसाए ट्रम्प
थर्काउँन खोज्दै भने-
तैले सिकाउनु पर्छ खाते
मलाई थाहा छैन
तिनीहरू त
मेरो खुट्टा मल्न पनि आउँछन
साले आतङ्ककारी कवि
तँलाई अमेरिका पचेन हैन ?
मैले भनें- हो
उनले भने- देखाइदिन्छु
मैले भने- मैले देखिसकेको छु
आइ हेट यु
वेलकम !
आइ थ्रेट यु
नो प्रोव्लम

यो भनाभन पछि
मैले सुनेको छु –
म मिस्टर डोनाल्डको
हिट लिस्टमा छु
यौटा आतङ्ककारी सेतो
अर्को आतङ्ककारी रातो
यसरी
मित्रता भो
सम्वाद भयो
अर्थात भनाभन भयो
र जे हुनु थियो त्यही भयो

म दर्जनौं कविहरूको
अमेरिका पलायनको कुराले
सोचमग्न छु
यस्तै रिक्वेस्ट
उता पनि त आयो होला ?
को को टिके होलान ?
को को विके होलान ?

निकै गाह्रो छ कवि भएर वाँच्न
नाथे कविलाई पनि
एत्रो अफर !
एत्रो थ्रेट !
खासै चान चुने बाटो
म पनि हिडिरहेको छैन सायद !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार