भोलि शैक्षिक आमहड्ताल

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भोलि २४ गतेका लागि घोषणा गरेको आम शैक्षिक हड्तालमा लुम्बिनी क्षेत्रभित्र संचालित सरकार र नीजि क्षेत्रका शिक्षण संस्था नखोल्न अखिल (क्रान्तिकारी) लुम्बिनीले अपिल गरेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही, नवलपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलवस्तु जिल्लाभित्रका संचालित कुनैपनि शैक्षिक संस्था संचालन नगर्न अपिल गरेका हुन् ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई यही माघ १७ गते संगठनको कामको सिलसिलामा रहेको बेला विराटनगर विमानस्थलबाट बिनाकारण गिरफतार गरेको जनाउँदै बिनासर्त तुरुन्त रिहा गर्न माग गर्दै केन्द्रीय समितिले भोलि २४ गतेको दिन देशैभर शैक्षिक हड्तालको घोषणा गरेको थियो । सोही अनुरुप लुम्बिनीले पूर्वघोषित कार्यक्रमलाई सफल पार्न भन्दै संस्थाहरु बन्द गरेर सहयोग गर्न अपिल गरेको हो । अपिललाई अटेर गरी संचालन गरिए कडा कारवाही गर्ने चेतावनी समेत उसले दिएको छ ।
वर्तमान सरकारलाई सामाजिक फासीवादीको संज्ञा दिँदै विज्ञप्तिमा गिरफ्तार कोषाध्यक्ष विकलाई बिनासर्त ससम्मान तुरुन्त रिहा गर्न समेत सरकारसँग माग गरिएको छ ।
यतिबेला अखिल (क्रान्तिकारी) ‘कम्युनिष्ट विद्यार्थी अभियान–२०७५’ अन्तर्गत देशैभर संगठन विस्तार तथा शैक्षिक र सामाजिक विकृति, विसंगतिविरुद्ध भण्डाफोर र विरोध प्रदर्शन गरिरहेको छ । यसक्रममा ७२ अर्ब आयकर छलीको आरोप खेपिरहेको नीजि क्षेत्रका मोवाइल सेवा एनसेलविरुद्ध प्रदर्शन जारी राखेको छ ।
सोही क्रममा आजैमा अखिल (क्रान्तिकारी)को नारायणी क्षेत्रीय समन्वय समितिले चितवनमा केन्द्रीय महासचिव प्रकाश शाहीको नेतृत्वमा एनसेलको विरोधमा विरोध र्याली र कोणसभामा भएको छ ।