फेरि पनि झुटा मुद्दाको खेती – विष्णु पन्त

२०७५ माघ २७ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई सरकारले पूर्वाग्रही र अमानवीय ढंगले आक्रमण गर्दैछ । यसले के प्रष्ट पार्दछ भने सरकार आपूm भित्रको असफलताको रिस विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि आक्रमण गरेर पोख्दै छ । हालै मात्र अखिल क्रान्तिकारीका कोषाध्यक्ष तथा प्रकाण्ड पुत्र गिरफ्तार गरेको समाचार निकै चर्चामा छ । सरकारले गिरफ्तार मात्र गरेन कि उनको झोलामा केही थान गोली समेत राखेर झुटो मुद्दामा फसाउने भद्दा नाटकको मञ्चन ग¥यो । गम्भीर कुरा त यो छ कि विमानस्थलको सुरक्षा जाँच पार गर्दासम्म नभएको गोली एकाएक विमान चढ्ने बेलामा कहाँबाट आयो त ? त्यसकारण यो एउटा कलाविहीन भद्दा नाटक र गंभीर षड्यन्त्र मात्र थियो । फेरि को त्यस्तो मान्छे होला जो झोलामा गोली बोकेर विमानस्थल जाओस् ? गोली लिएर त्यो व्यक्ति मात्र जान सक्छ जो सरकारको सुरक्षा निकायको सदस्य होस् । त्यसकारण तथ्य स्पष्ट छ त्यो गोली कसले राख्यो भने जसले विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गर्ने षड्यन्त्र ग¥यो । षड्यन्त्र त सरकारले, अनि गृहमन्त्रीले ग¥यो । त्यसको आदेश पालना गर्ने प्रहरीले कार्यान्वयन ग¥यो । जसले राखे पनि ती षड्यन्त्रकारीहरु जनताको निगरानीमा पर्ने नै छन् ।
विद्यार्थी नेता नरेन्द्र विकलाई झुटा मुद्दामा फसाउनेसम्मको हर्कत गर्नुपर्ने सरकारको चेतना कस्तो होला ? सरकारी कदमको विरोध गर्दै अखिल क्रान्तिकारीले पहिलो चरणको विरोध कार्यक्रमअन्तर्गत माघ २४ गते आमशैक्षिक हड्तालसम्म कार्यक्रम सफल पा¥यो । माघ २४ गते बेलुकासम्म पनि सरकाले त्यसको बारेमा कुनै प्रतिक्रिया दिएको छैन । सरकार आफैं नाङ्गो ढंगले झुटा मुद्दामा फसाउनका लागि षड्यन्त्र गर्ने, निर्दोष व्यक्तिलाई समातेर उसको झोलामा गोली थिए भन्दै हिंड्ने । के यसले सरकारको कमजोरीलाई देखाउँदैन र ? के विमानस्थल भित्र कोही गोली बोकेरै पुगेको भए यतिबेला सरकार हल्लीदेन्थ्यो होला र ?
हो हामीलाई थाहा छ कि सरकार विप्लव नेतृत्वको नेकपालाई कसरी युद्धमा धकेल्ने भन्ने षड्यन्त्रमा छ । यसै सिलसिलामा उसले महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य कंचन, पिवीएम वीरजंग, जीवन्त आदिका घरमा पक्राउ पुर्जी टाँसी रहेको छ । यसभन्दा अगाडि क. प्रकाण्ड लगायतका नेताहरुको गिरफ्तारी र त्यसको चौतर्फी विरोधबाट सरकार पछाडि हट्न बाध्य भएको थियो । पछिल्लो समय पार्टी प्रवक्ता प्रकाण्डलाई मुख्य निशानामा राखी रहेको छ र प्रकाण्डलाई गलाउने उद्देश्यका साथ छोरा नरेन्द्रलाई गिरफ्तार गरी झुटा मुद्दामा फसाउन खोजेको षड्यन्त्र गरिंदै छ । एकातर्फ विद्यार्थीहरुद्वारा गरिएको राष्ट्रिय स्वाधीनताको आन्दोलन र अर्कोतिर एनसेलको ७२ अरब कर छलीविरुद्धको सशक्त प्रतिरोध आन्दोलनलाई मत्थर गराउन गरिएको एउटा षड्यन्त्र हो नरेन्द्रको गिरफ्तारी । ‘सुपो ठटाएर हात्ती तर्साउने’ रणनीतिअन्तर्गत पनि यो गरिएको हो ।
पछिल्लो समय पार्टीका गोप्य सूचनाहरु सरकारसम्म पुग्न सकेका छैनन् । हुन सक्छ, नरेन्द्र हुँदै प्रकाण्डसम्म पुग्न सकिन्छ कि भन्ने उद्देश्यले पनि यो गिरफ्तारी गरिएको हुन सक्छ । त्यति मात्र होइन, सरकारले प्रकाण्डलाई विप्लवका मुख्य सहयोगीका रुपमा बुझेको छ । हामीलाई जानकारी छ कि एकातिर पिकेहरु विप्लवहरुलाई पनि थर्काएर, गलाएर आत्मसमर्पण गराउन चाहन्छन् भने अर्कोतिर विप्लवलाई सिध्याएर कथित शान्तिको राप अलाप्न चाहन्छन् । सरकारले राजनीतिक प्रतिशोधको निशाना प्रकाण्डलाई बनाएको छ । प्रकाण्ड पछि उनको परिवारप्रति आक्रमण, दमन र प्रतिरोध । त्यसैको पछिल्लो कडीका रुपमा आएको हुन सक्छ नरेन्द्रको गिरफ्तारी र गोली भेटिएको भन्दै झुटा मुद्दा प्रकरण । वास्तवमा त्यो गोली राखी दिने वा छ भनेर भन्ने अधिकारी माथि छानविन हुनुपर्छ । गोली राखेर झुटा मुद्दा लगाउन आदेश दिने मुख्य षड्यन्त्रकारीलाई पनि जनताको बीचमा नाङ्गेझार पारिनु पर्छ ।
हो पछिल्लो समय सिमानामा काँडेतार लगाउने र खासगरी एनसेलको ७२ अरब कर असुलीका बारेमा भएका सशक्त र देशव्यापी प्रदर्शनहरुबाट सरकार अत्तालिएको छ । पक्कै पनि अरबौं कमिसन खाएकाहरुलाई यो विषय गम्भीर र संवेदनशील बन्दै छ नै । हुनसक्छ तिमीहरु एनसेल विरोधी आन्दोलन गर्ने हो भने गर्दा हामी यसरी काउन्टर गर्छौं भन्ने सरकारको चेतावनी हुनसक्छ । तर, यस्ता सरकारी हर्कतले न त अखिल क्रान्तिकारीलाई हल्लाउने छ न त पार्टीलाई ।
निष्कर्षमा भन्नुपर्दा सरकारलाई एनसेलको ७२ अरबको विषयले पोलेको हो भने सिधासिधा घोषणा गरेर एनसेलको पक्षमा उभिनु पर्दछ । प्रधानमन्त्री, मन्त्री र पार्टी नेताहरुले खाएको कमिसनले पोलेकै होला । सडकमा विरोध हुँदा त्यसले आक्रोश उत्पन्न गरेकै होला । तर राष्ट्रिय ढुकुटीलाई रित्याउने तर नेताहरु धनी बन्ने नाङ्गो तस्बीरहरुलाई छुट दिन सकिंदैन । आन्दोलन गरेकै कारण हुनसक्ने सबै सरकारी दमन, षड्यन्त्रको सामना गर्न क्रान्तिकारीहरु तयार छन् । हामी स्पष्ट छौं, सरकारले क्रान्तिकारीहरुका विरुद्ध जति षड्यन्त्र गर्दै जान्छ, ऊ त्यति नै जनतामाझ नाङ्गिदै जानेछ । ओली, दाहाल र थापा झनै बढी नाङ्गिने छन् । हुन त नाङ्गिनका लागि के नै पो बाँकी छ र ? फेरि पनि हाम्रो चुनौति छ कि, सरकार एनसेलको कर छलीमा साथ दिन चाहन्छ भने घोषणा गरेर आउनु पर्छ । प्रदर्शनकारीहरुलाई तर्साएर वा दमन गरेर चोर बाटोबाट आउनु हुँदैन ।

प्रतिक्रियाहरु

[anycomment]