‘प्रलेसलाई नयाँ कार्यशैलीसहित तिखार्न आवश्यक छ’
काठमाडौं, २७ माघ । प्रगतिशील लेखक सङ्घ, मकवानपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो संगठनको मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि प्रलेसका केन्द्रीय उपाध्यक्ष एवम् ३ नं. प्रदेश इन्चार्ज खेम थपलियाले मनैबत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटनसत्रलाई सम्बोधन गर्दै थपलियाले सत्ताधारीलाई सदैव खबरदारी गर्नु, विकृति–विसङ्तिका विरुद्ध आवाज उठाउनु तथा अग्रगामी मार्ग अवलम्बन गर्नु प्रगतिशील लेखक तथा संस्कृतिकर्मीहरूको दायित्व रहेको बताए ।
उनले यो संगठन पुरानो संस्था भएर पनि यसका केही कमजोरीको कारण यसको उद्देश्य जति काम गर्न नसकेको भन्दै उनले अब नयाँ कार्यशैलीसहित विचार र कामलाई तिखार्न जरुरी रहेको विचार राखे ।
प्रगतिशील लेखक सङ्घ अहिले विभिन्न समस्यासित जुधिरहेको बताउँदै खेम थपलियाले प्रगतिशील स्रष्टाहरू पद–प्रतिष्ठातिर नभई जनतातर्फ फर्किंदा धेरै समस्या समाधान हुने कुरामा पनि जोड दिए ।
कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य निमेष निखिल, ३ न. प्रदेश सांसद प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, सङ्घका पूर्वअध्यक्ष सम्राट तुम्बाहाङ्फे, जिल्ला सल्लाहकारहरू कौशल पाण्डे, उमाकान्त आचार्य एवम अतिथिहरू ऋषिराम पोख्रेल, तुलसी घिमिरे लगायतकाले शुभकामना व्यक्त गरेका थिए । हेटौंडा क्याम्पसको सभाकक्षमा आयोजित सम्मेलन सत्रमा अध्यक्ष पुरुषोत्तम आचार्यले संस्थाले गरेको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष नानिमैया विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सातौँ जिल्ला सम्मेलनले शान्तिप्रिय बन्दनाको नेतृत्वमा प्रगतिशील लेखक सङ्घ मकवानपुरको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जीवी लामिछाने र कोषाध्यक्षमा डीबी बर्तौला पदाधिकारी रहेको ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।