मैले ख्रुश्चेवलाई लेनिन भन्न सकिन – बलराम तिमल्सीना

२०७५ फाल्गुन १ गते, बुधबार

मैले ,
विश्वासघाती ख्रुश्चेवलाई घृणा गर्दा
तिमीलाई रिस उठ्छ भने
उठ्न देऊ त्यो रिस
यो घृणाको पनि कारण छ
त्यो रिसको पनि कारण छ
विना कारण
न घृणा जन्मेको छ
न रिस जन्मेको छ !

माफ गर सवैको प्यारो मान्छे
मैले लेनिन र ख्रुश्चेव दुवैलाई मायाँ गर्न सकिन
लेनिनलाई मायाँ गर्नु
ख्रुश्चेवलाई घृणा गर्नु हुन्थ्यो
ख्रुश्चेवलाई मायाँ गर्नु
लेनिनलाई घृणा गर्नु हुन्थ्यो
मैले तिमीले जस्तो
मायाँको शास्त्र आविष्कार गर्न सकिन !

जुन दिन ख्रुश्चेवको पूर्ण जीत भएथ्यो
त्यो दिन लेनिनको शालिक ढलेथ्यो
लेनिनको शालिक ढाल्ने ख्रुश्चेवलाई
मैले लाल सलाम गर्न सकिन
मैले वेइमान ख्रुश्चेवबाट
इमानको आशा गर्न सकिन !

तिमीले महा-नायक भनेको मान्छे
ठ्याक्कै ख्रुश्चेवजस्तै छ
ख्रुश्चेवकै भाषा बोल्छ
ख्रुश्चेवकै बाटो हिड्छ
काटीकुटी ख्रुश्चेवलाई
मैले लेनिन हुन भन्न सकिन !

आफैले रोपेको विरुवा उसले
आफैंले ढालेर आयो
आफैंले जन्माएको सन्तान
वधशालामा फालेर आयो
तिमीले विरुवा रोपेको देख्यौ
विरुवा ढालेको देखेनौ
तिमीले नानी जन्माएको देख्यौ
वधशालामा फालेको देखेनौ
तिमीले नदेख्दैमा मैले देखिन भन्न सकिन
मरेकाट्टे ख्रुश्चेवलाई मैले लेनिन भन्नै सकिन !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार