लुम्बिनी बन्द फिर्ता

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते आव्हान गरेको लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता भएको जनाएको छ । आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको थियो । आज अर्घाखाँचीको सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहाँ गरेपछि बन्द फिर्ता गरेको हो । गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज कमरेड पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका व्यूरो इन्चार्ज वीरजंगद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘झुठ्ठा मुद्दा लगाई गिरफ्तार गरिएका कमरेडहरुलाई आज प्रशासनले रिहा गरेको छ । हाम्रो पार्टीको सांगठनिक अभियान निरन्तर चलिरहेको जानकारी गराउँदै जनताहरुमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै पूर्वघोषित संघर्षको कार्यक्रम अन्तर्गत फागुन ८ गते हुने भनिएको लुम्बिनी व्यूरोका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता गरिएको जानकारी यसै विज्ञप्तीमार्फत गराउदछौं ।’