मन्त्री मगर सचिव ठाकुरबीच आराेप-प्रत्याराेप

२०७५ फाल्गुन ९ गते, बिहीबार

काठमाडौं, ९ फागुन । खानेपानी मन्त्री विना मगर र जिम्मेवारीबाट हटाइएका सचिव गजेन्द्र ठाकुरबीच आराेप-प्रत्याराेप चुलिएकाे छ । एकले अर्काेलाई गलत देखाउन विभिन्न आराेप लगाउन थालेका छन् । मन्त्री मगरले मेलम्ची आयाे‍जनामा ठेकेदारसँग सचिव ठाकुरले कमिसन मागेपछि इटालियन ठेकेदार कम्पनी सिएमसी बिच्किएकाे आराेप लगाएकी छिन् । सचिवकै कारण मेलम्ची आयाेजना पछि धकेलिने अवस्था आएकाेले सरुवा गरिएकाे उनकाे भनाइ छ ।
उता सरुवा गरिएका सचिव ठाकुरले भने मन्त्री मगरले आफ्नाे स्वार्थ पूरा नहुने देखेपछि आफूलाई नियाेजित रुपमा हटाएकाे आराेप लगाएका छन् । सरुवामा परेलगत्तै उनले मन्त्री मगरमाथि ‘देश डुबाउन खोजेको’ भन्ने खालका गम्भीर आरोप लगाएका छन् । साेमबार खानेपानी व्यवस्थापनमा अक्षम रहेको भन्दै सचिव ठाकुरलाई जिम्मेवारीबाट हटाइएकाे थियाे । हाल उनलाई उनलाई ‘जगेडा’मा राखिएको छ । आयोजन सम्पन्न हुनै लागेकाे सकारात्मक समाचारहरु आउन थाल्दा करिब २ महिनाअघि ठेकेदार कम्पनी एकाएक याेजनाबाट पछि हट्याे । ठेकदारले आयोजना छोडेपछि अब कसरी आयोजनाकाे बाँकी काम सम्पन्न गर्ने भन्नेमै मन्त्री र सचिवबीच स्थार्थ बाझिएकाे बताइन्छ ।
मन्त्रालय स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै सचिव ठाकुरको सरुवा गरिएको हाे । ठाकुरको सरुवा भएसँगै इटालियन ठेकेदार पुन: काममा फर्कने बताएकी छिन् । उनले सचिव ठाकुरका कारण आयाेजना अन्याैलकाे भुमरीमा फसेपछि उनलाई मन्त्रालयबाट सरुवा गरिएकाे दाबी गरेकी छन् । सिएमसीले ठेक्का ताेड्ने कुरा बाहिर आएदेखि नै सचिव ठाकुर विवादमा परेका थिए ।
खानेपानी मन्त्रालयकाे सचिव मेलम्ची आयोजनाको बोर्ड अध्यक्ष हुने प्रावधान छ । यस हिसाबले आयाेजनाका अध्यक्ष समेत रहेका सचिव ठाकुरले सीएमसीसँग कमिसन मागेको आराेप लगाउँदै मन्त्री मगरले उनी हटेपछि अब आयाेजनालाई अघि बढाउन सहज हुने विश्वास लिएकी छिन् । तर, सरुवापछि आक्रोशित बनेका ठाकुरले अबका ३ महिनामै काठमाडौंमा मेलम्ची पानी ल्याउने गरी थालेको आफ्नो प्रयास बिथोल्न मन्त्रीले सरुवा गरेको आरोप लगाएका छन् ।सचिव ठाकुरले मेलम्चीको पानी समयमै काठमाडाैँ नआउने र राज्यले करोडौं आर्थिक क्षति समेत ब्याहोर्ने निर्णय गर्न मन्त्रीले दबाव दिएको आराेप लगाउँदै आफूले साे दबाव अस्वीकार गरेकै कारण हटाइएकाे दाबी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु