सहिद सप्ताह सुरु, जनयुद्धका सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरिदै

२०७५ फाल्गुन १४ गते, मंगलवार

काठमाडौँ, १४ फागुन । २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु गरिएको महान जनयुद्ध वीरता, बलिदान, सहादत अनि अमरताको ऐतिहासिक घटनाको सम्झनामा आजबाट सहिद सप्ताह शुरु भएको छ । जनयुद्ध सुरु भएको १३ औँ दिनमा नै गोरखाका एघार वर्षिय दिलबहादुर रम्तेललाई तत्कालिन राज्यसत्ताले कायतापूर्ण तरिकाले हत्या गरेको थियो । दासताका विरुद्ध पहिलो पटक नेपाली जनताले हतियार उठाएको जनयुद्धको क्रममा सहादत हुने सम्पूर्ण सहिदहरुको सम्झनामा प्रत्येक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी (माओवादी) लगायत पार्टीले सहिद परिवारजनलाई सम्मान गर्नुका साथै विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन् ।
गोरखा–जराङस्थित ब्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत कलिला विद्यार्थीहरूलाई तर्साएर–धम्क्याएर जनयुद्ध रोक्ने दुस्साहस गरियो । फागुन १४ गते घ्याम्पेसालबाट निस्केको एक प्रहरी जत्थाद्वारा सूर्यज्योति माविका प्रधानाध्यापक वीरवहादुर गुरुङलाई पोखाराटारको सुकेटारस्थित एक गैरसरकारी संस्थामा आगजनी गरेको आरोपमा विद्यालयभित्रै छोपियो । इमानदार र लोकप्रिय आफ्ना गुरुलाई स्कुलहाताभित्रैबाट अमानवीय र अन्यायपूर्ण गिरफ्तार गर्न खोजेपछि करिब ७ सय विद्यार्थीहरूले प्रहरीको कडा प्रतिकार, प्रतिरोध र प्रतिवाद गरे । प्रधानाध्यापक गुरुङलाई नछोडेपछि विद्यार्थीहरू प्रहरीकै पछिपछि नजिकै रहेको ब्रह्मचारिणी निमाविमा आइपुगे । जनदबाब र प्रतिरोधपछि आतङ्कित प्रहरीले जथाभावी गोली प्रहार गर्न थाल्यो । प्रहरीद्वारा भीडमा अन्धाधुन्दा गोली चलाउँदा ११ वर्षीय दिलबहादुर रम्तेल र स्थानीयवासी रामप्रसाद भट्ट गम्भीर घाइते हुनुभयो । घाइते दुवैजनालाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा तारलेडाँडा भन्ने स्थानमा दिलबहादुर रम्तेलको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]