नेकपाको अभियान र गतिविधिलाई नियन्त्रण गर्न अघोषित अपरेसन

२०७५ फाल्गुन २० गते, सोमबार

काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीले चलाएको अभियान र गतिविधिलाई नियन्त्रण गर्न भन्दै सरकारले पूर्वी क्षेत्रको एक नम्बर प्रदेशमा निगरानी र खानतलासी कार्यलाई तीव्र पारेको छ । प्रदेशअन्तर्गत बिभिन्न जिल्लामा सर्च अभियान चलाइएको नेकपाले जनाएको छ । त्यसमध्ये मोरङ, तेह्रथुम र धनकुटालाई मुख्य टार्गेट बनाएको बताईएको छ ।
मुख्य गरी सशस्त्र प्रहरी परिचालित गरिएको स्थानीयहरुले बताएका छन्, काठमाडौंबाट समेत प्रहरीको बिशेष टोली अनुसन्धानका लागी भन्दै पूर्वका बिभिन्न जिल्लामा खटिएको स्रोत बताउछ । केन्द्र र प्रदेश प्रशासनको टोलीले धनकुटा, सुनसरी, तेह्रथुम र मोरङका पहाडी क्षेत्रका गाउँबस्तीमा ‘अपरेसन’ चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी पूर्वी कमाण्डले जनाएको छ ।
मोरङको लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा सर्च कार्यलाई तीव्र पारिएको उसले जनाएको छ । लेटाङ र केराबारी धनकुटासँग जोडिएको क्षेत्र हो भने मिक्लाजुङ पाँचथर र इलामसँग सीमाना जोडिएको भूभाग हो । एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई हुन् । उनी तत्कालीन नेकपा एमालेबाट सांसद बनेका थिए । प्रदेश चुनावको प्रचारप्रसारका क्रममा राई लक्षित गरी भोजपुरमा बम विष्फोट गरेको अभियोगमा नेकपाका प्रवक्ता प्रकाण्डलगायत दर्जन नेता कार्यकर्तालाई मुद्दा समेत चलाइएको थियो । तर उक्त मुद्दाका अभियुक्तहरु नेकपा महासचिव विप्लव, प्रकाण्ड लगायत १६ जनालाई केही हप्ताअघि मात्र भोजपुर जिल्ला अदालतले सफाई दिइसकेको छ ।
‘अपरेसन’को पछाडि यही फागुन १५ गते नेकपाका धनकुटा–मोरङ संयुक्त इन्चार्ज देवकुमार लिम्बू ‘संगित’लाई गिरफ्तारलाई कारण बनाइएको छ । त्यही घटनालाई मुख्य कारण बनाई प्रहरीले त्यस क्षेत्रमा सर्च र धरपकडलाई बढवा दिएको नेकपाको बुझाई छ । हिरासतमा बन्दी बनाइएका ईन्चार्ज सगीतमाथि हातहतियार तथा खरखजना अभियोग लगाइएको छ । उनीबाट ‘अत्याधुनिक हतियार’ बरामद भएको प्रशासनको भनाई छ । उनलाई प्रहरीको धरान हिरासतमा राखिएको छ । तर उनले बयानका क्रममा उक्त आरोप अस्वीकार गरेको बताईएको छ ।
त्यसयता कोशी क्षेत्रअन्तर्गत बस्तीहरुमा चौबिसै घण्टा सर्च चलाइएको र टोलीले कतिपयसँग नेकपाका नेता कार्यकर्ताको नाम र तस्बीर देखाउँदै ‘चिन्छस्’ भन्दै केरकार गर्नेगरेको स्थानीयहरु बताउँछन् । जनताका चुनिएका प्रदेश सरकारले नै जनतामाझ् बिनाकारण दुःख दिने काम गरिरहेको भन्दै उनीहरुले विरोध शुरु गरेका छन् ।
तेह्रथुम सदरमुकाम म्याङ्लुङबाट फिल्डमा गएको सशस्त्र प्रहरी बलको टोली छथर गाउँपालिका, ओख्रेस्थित एक विद्यालयमा हप्ता दिनदेखि अस्थायी क्याम्प नै खडा गरेर बसिरहेको र त्यसबाट पठनपाठनमा बाधा पुगेको स्थानीयको भनाई छ । संकटकालको झल्को दिने गरी सुरक्षाकर्मी परिचालित भएको उनीहरुको भनाई छ । समाचार अनुसार टोलीले फागुन १४ गते सोही गाउँका सामना परिवारका जनकलाकार पहल राउतलाई पनि गिरफ्तार गरेको छ ।
उता २०७४ को स्थानीय र केन्द्र तथा प्रदेश चुनावलाई सशक्त बहिष्कार गरेको नेकपाले ‘जनसंविधान’ घोषणा गरेर ‘जनपरिषद, जनमुक्ति सेना र जनअदालत’ गठन गर्दै समानान्तर सत्ता चलाइरहेको खुलेआम बताउन थालेको छ । आजै मात्र सम्भवतः पहिलोपटक नेकपा अर्घाखाँचीका ईन्चार्ज कमल केसी र सोही जिल्ला जनसरकार प्रमुख पितम्बर पोखरेलले संयुक्त एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा विकास र ठेक्कापट्टाका सम्पूर्ण काममा सहकार्य नगरी कुनै कामकारवाही अगाडि नबढाउन सम्बन्धित पक्षलाई अपिल गरेका छन् ।
सहकार्य नगरी एकलौटी गरेमा पार्टीले प्रतिरोध गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ । जनयुद्धकालमा तत्कलीन नेकपा (माओवादी)ले जिल्ला, केन्द्र र स्थानीय स्तर (गाविस)मा जनसत्ताको रुपमा जनसरकार चलाएको थियो । तत्कालीन जनयुद्धका नेतृत्व प्रचण्ड जनयुद्धको उद्देश्य र लक्ष्यबाट भागेको निस्कर्ष निकाल्दै अहिले विप्लवको नेतृत्वको नेकपाले भौगोलिक रुपमै विभक्त गरी पूर्वी, मध्य, मध्यपश्चिम र सुदूरपश्चिम कमाण्ड बनाएर एकीकृत जनक्रान्तिको मुख्य कार्यदिशालाई राजनीतिक आन्दोलन रुपमा अगाडि बढाइरहेको छ ।
यसअघि नेकपामाथि दमन र धरपकड श्रृंखला नचलाएको होइन, तर यो तहसम्मको सर्च भने सरकारले नगरेको नेकपाको बुझाइ छ । यो क्रम अगाडि बढेको खण्डमा मुलुकमा निकटमै द्वन्द्वमा देश जान सक्ने पूर्वी कमाण्ड ईन्चार्ज विरहीले बताए । प्रहरीले सर्च र अघोषित रुपमा जारी राखेको अपरेसन तत्काल रोक्न र शान्तिपूर्ण राजनीतिक गतिविधिसँग त्रसित नहुन सरकारसँग उनले आग्रह समेत गरे । अन्यथा, अपरेसनबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवार सरकार नै हुने उनको चेतावनी छ ।
यसैबीच मोरङ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले प्रहरीले जिल्लामा अपरेसन नचलाएको र सबैतिर शान्तिपूर्ण वातावरण रहेको प्रतिक्रिया दिए । ‘प्रहरीबाट जिल्लामा कुनै अपरेसन चलाएको छैन । मोरङको हकमा सामान्य गस्ती त भइरहेकै कुरा हो’ उनले भने ‘त्यस्तो भएको हो भने म बुझाउँला ।’

प्रतिक्रियाहरु

[anycomment]