तनहुँ जलविद्युतले सिएमसीसँगको ठेक्का सम्झाैता ताेड्याे
काठमाडौं,२४ फागुन । तनहुँ जलविद्युत् आयोजनाले इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झाैता ताेडेकाे छ । १४० मेगावाट क्षमताको साे अायाेजनाकाे पहिलो प्याकेज अन्तरगत संरचना निर्माणको जिम्मा सिएमसीले पाएकाे थियाे । तनहुँ हाइड्रोपावर लिमिटेडले सिएमसीलाई फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिएकाेमा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी गराएको हो । तनहुँ हाइड्रोपावर र सिएमसीबीच गत असोज १५ गतेका दिन रु २० अर्ब ६४ करोड ५२ लाखमा खरीद सम्झौता भएको थियो । हाइड्रोपावरले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानतबापत राखेको रु ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख जफतको लागि दाबी गरेको छ । ठेकेदार कम्पनीलाई खरीद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश नमानेको भन्दै हाइड्राेपावरले ठेक्का रद्द गरेकाे हाे । गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिइएको थियो तर सिएमसी काम गर्न अाएन । यसका साथै अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको र कम्पनी वित्तीयरुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेकाे लगायतका कारणले ठेक्का ताेड्नुपरेकाे बताइएकाे छ ।
सिएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यही हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ । यसअघि मेलम्ची खानेपानी आयाेजनाकाे मूल सुरुङ तथा हेडवर्क निर्माणकाे जिम्मा पाएकाे इटालियन कम्पनी सिएमसीले अाफू अार्थिक रुपमा टाट पल्टेकाे भन्दै मेलम्चीकाे काम छाेडेर गइसकेकाे छ । गत माघ ६ गते मेलम्ची आयाेजनाले १४ दिनभित्र काममा फर्किन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) सीएमसीलाई पठाएको थियो तर उसले फर्किने सुर नदेखाएपछि ठेक्का रद्द भएकाे हो ।