‘ विखण्डनकारीलाई फूलमाला नेकपामाथि प्रतिवन्ध लगाउनु राजनीतिक प्रतिसोध ‘

२०७५ फाल्गुन २९ गते, बुधबार

काठमाडौं, २९ फागुन । संविधानविद् भीमार्जुन आचार्यले विखण्डनकारी सिके राउतलार्इ फूलमालाले स्वागत गर्ने तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक प्रतिशोधपूर्ण भएकाे बताएका छन् । आचार्यले कुनै पनि दलको हिंसात्मक गतिविधिमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउन सक्ने भए पनि राजनीतिक दलमाथि नै प्रतिबन्ध लगाउनु संविधान विरुद्धको कार्य भएको बताए । नेपालको संविधानले राजनीतिक दल खोल्न पाउने अधिकार मौलिक हकमा नै उल्लेख भएको बताउँदै आचार्यले दललाई नै प्रतिबन्ध लगाउने निर्णयले आफू आश्चर्यमा परेको बताए । विप्लव समूहले केही हिंसात्मक गतिविधि गरिरहेको स्वीकार्दै आचार्यले भने, ‘ती राष्ट्रहित विपरीतका गतिविधिमाथि प्रतिबन्ध लगाउने अधिकार सरकारसँग सुरक्षित छ, तर उक्त दलमाथि नै प्रतिबन्ध लगाउनु सरासर कानुन विपरीत हो ।’
सोही प्रसंगमा कुरा गर्दै आचार्यले भने, ‘सिके राउत जस्तो देश विखण्डनको आन्दोलन चलाउने व्यक्तिलाई फूलमालाले सम्मान गर्ने तर देशका लागि भनेर आन्दोलनमा होमिएको दलमाथिको प्रतिबन्धले सरासर राजनीतिक प्रतिशोध साँध्न सरकारले गरेको निर्णय हो भन्ने देखाउँछ ।’

प्रतिक्रियाहरु

[anycomment]