कालिकोटमा सेना परिचालन , प्रकाण्डलाई पक्राउ गर्ने योजना

काठमाडौँ , ६ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई खोज्न संयुक्त सुरक्षा निकायको टोली कालिकोटको सान्नित्रिवेणी , रास्कोट हुँदै नरहरिनाथ गाउँपालिका पसेको बताइएको छ । ने क पा को गतिविधिमा रोक लगाउन र प्रवक्ता प्रकाण्डसहितका कार्यकर्तालाई नियन्त्रणमा लिन गस्ती गाउ पसेको बताइएको छ । कालिकोट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पकड क्षेत्र मानिन्छ।
जिल्लाका सुरक्षा निकायले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको बुझिएको छ । यस कुराको पुस्टि गर्दै जिल्ला प्रहरी प्रमुख विनोद शर्माले नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती सुरु गरिएको बताए ।
कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्ला निकै शान्त रहेको बताए। उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती गाउँतिर गएको छ। नेकपाका नेताबारे सूचना संकलन गर्ने कार्य भइरहेको छ।’
यसअघि फागुन अन्तिम साता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्दको निवास रहेको कपिलवस्तुको शिवगढी स्थित घरमा प्रहरीले रातभर घेरा हालेपछि बिहान स्थानीयले प्रतिरोध गरेपछि प्रहरीले गोलि चलाएको र स्थानीयको घरहरुमा खानतलासी गरेको थियो भने प्रहरीले गोलि हानि कपिलवस्तु शिवराज न पा ९ दुर्गा बहादुर रोकायलाई गिरफ्तार गरेको थियो ।