‘गिराफ्तार नेता कार्यकर्ता रिहा गर ‘

काठमाडौं, ७ चैत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य एवं मध्य कमाण्ड ईन्चार्ज सुदर्शनले निशस्त्र पार्टीका नेता कार्यकर्तालाई समातेर दोहोरो फायरीगंको बकबास गरेको भन्दै सबै गिराफ्तार नेता कार्यकर्ता रिहा नगरे जनप्रतिरोधको कार्बाही अघि बढाउने चेतावनी दिएका छन् । विहिबार एक विज्ञप्ति जारी गरी ईन्चार्ज सुदर्शनले काभ्रेको रोशी गाँउपालिकाको काफलडाडामा संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामागं, नुम बहादुर विक, शिव धिमाल र दिपेन्द्र राईलाई पक्राउ गरी गोली चलाएको बकवास गरिएको भन्दै विरोध जनाएका छन् ।
यसले संकटकालको स्मरण गराएको भन्दै विज्ञप्तिमा तत्कालै सुरक्षा निकायमाथि पार्टीको नीति नै नरहेको र सिआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले गरेको व्यवहारले जनयुद्धकालमा सेनाले भैरवनाथ गणमा गरेको व्यवहारको प्रत्यक्ष अनुभूति भएको भनिएको छ ।
सरकार गृहप्रशासन, सुरक्षा निकाय परिचालन गरेर देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार र अत्याचारलाई लुकाउने र अपराधीहरुलाई संस्थागत गर्ने तिर लागेको दावी पनि विज्ञप्तिमा गरिएको छ ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य एवं मध्य कमाण्ड ईन्चार्ज सुदर्शनद्वारा जारी प्रेस–विज्ञप्तिकाे पूर्णपाठ- “नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी–पीके सरकार सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुँदैछ भनी गरेको संश्लेषण वर्तमान घटनाक्रममले राम्रोसँग पुष्टि गरेको छ । हाम्रो पार्टीको गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फासिवादको भद्दा नमुना हो । फागुन २८ गते हाम्रो पार्टी र नेपाली जनताका लागि कालो दिनका रूपमा इङ्गित भएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएलगत्तै हाम्रो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलगायत दर्जनौँ कमरेडहरूलाई गिरफ्तार गरिसकेको छ । यही सिलसिलामा पछिल्लो घटना काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको छ । निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जबाफी गोली चलाएको बकबास गरिएको छ । यो झूट्टा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ । अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको छ। सीआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ । यसकारण हामी यो सरकार, गृह प्रशासन, गृह प्रशासनअन्र्तगत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको कुरा आमजनसमुदायमा अवगत गराउन चाहन्छौँ । यसका साथै हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूको शीघ्र रिहाइका लागि आदरणीय जनसमुदाय, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ । यो सरकारले उहाँहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुनेछौँ ।”