अरुको खिसिट्युरी गर्दा आफ्नो अनुहार हेर्नु पर्दैन ? – भरत दाहाल
औकात विनाकाहरुको परचक्रि प्रेरित चिच्याहट
अरुको खिसिट्युरी गर्दा आफ्नो अनुहार हेर्नु पर्दैन ?
“हतियार बोकेर लुरुलुरु आए हुन्छ”, “सम्झाउँदा केही नलाग्ने भएकाले कृष्णले चक्र बोके”, “विप्लवलाई जेलमा हालेर भए पनि मुलधारमा ल्याउँछौं”, “चन्दा माग्ने, मान्छे मार्ने अनि झण्डामा हँसिया हथौडा प्रयोग गर्ने विप्लव समूहलाई सरकारले चिन्दैन”, “विप्लवको गतिविधि राजनीतिक होइन”, “चैतभित्रै विप्लवका गतिविधि नियन्त्रणमा लिइन्छ”, “विप्लवको हतियार खोस्न राज्य अघि बढ्यो, अब ब्याक गियर लाग्दैन”।
विप्लव नेतृत्वको नेकपाका नाममा यदि कुनै हिंसात्मक घटनाहरु सुरु भए भने त्यस्ता घटनाहरु नियन्त्रण गर्ने औकात ओली सरकारको बुता भन्दा धेरै बाहिरको कुरा हो। किनभने विप्लव समूह निमित्त कारण मात्र हुने हो, यसपछि यसको सेरोफेरोको वातावरणसंग जोडिएर प्रतिकार गर्ने संख्या हजारौंको पुग्नेछ। ३० हजारको संख्यामा त अयोग्य भनेर शिविरबाट निकालिएका लडाकुहरु मात्र छन्। यी मध्ये ५ हजार पुष्पकमलको पक्षमा रहेको अनुमान गर्दा पनि २५ हजार उनको विरुद्धमा छन्।
माओवादी कित्तालाई छोडेर सरकारका विरुद्धमा खडा हुन सक्ने अरु दर्जनौं समूहहरु पनि छन्। यी सबै तथ्यहरुलाई देखेर पनि विप्लव नेतृत्वको नेकपाका विरुद्धमा ओली र उनको आसपासका सडकछाप सल्लाहकार र मन्त्रिहरुले तल्लो दर्जाका टुक्काहरु सनाएर आत्मरति गरिरहेको देख्दा लाग्छ यीनीहरुले वातावरणलाई सकेसम्म उत्तेजित बनाएर अर्कैको मिशनका लागि वातावरण धुमाल्ने प्रयास गरिरहेका छन्।
बोल्दा आफ्नो अनुहार हेर्दै नहेर्ने पाखेपन यीनीहरुमा जब्बर देखिन्छ। अरबौंका भ्रष्टाचारका काण्डमा मुछिएका र राज्यकोषको लुटलाई पेशा बनाएका यीनीहरुले विप्लव समूहले उठाएको चन्दालाई कटाक्ष गरेको देख्दा यस्तो अनुभूति हुन्छ कि लुट यीनीहरुको भागमा परेको एकलौटि अधिकार हो र विप्लव समूहले यीनीहरुको भाग खोसिरहेकोमा यीनीहरु विक्षिप्त छन्।
यी सडकछाप औकातहिनहरुलाई प्रश्न गरौं- विप्लव समूहले उठाएको चन्दा अपराध हो भने तिमीहरुको मासिक लाखौं खर्चको श्रोत के हो ? कठ्ठा जमिन र ३ तोला सुन हुने पुष्पकमलको एैय्यासि जीवन कसले चलाई दिएको छ ? काठमाडौं र देशका अन्य शहरमा झुम्मिएका उद्यमविहिन तिमीहरुका आसेपासे र झोलेहरुका मस्तिको जीवन कुन श्रोतबाट चलिरहेको छ ? अरुको खिसिट्युरी गर्दा आफ्नो अनुहार हेर्नु पर्दैन ?