आज हरितालिका तिज
काठमाडौं, २३ भदौ – आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् । काठमाडौंको पशुपतिनाथ मन्दिर सहित देशभरका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।विहान ४ बजेदेखि भने पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेशका लागि अहिले ३ वटा लाइनको व्यवस्था गरिएको छ । गुहेश्वरी हुँदै उमाकुण्ड निस्कने, जयवागेश्वरीको भुवनेश्वरीबाट र गौशाला वनकाली हुँदै मन्दिरको दक्षिण ढोका प्रवेश गर्ने गरी लाइनको व्यवस्था मिलाइएको कोषका निर्देशक रमेश उप्रेतीले जानकारी दिए । मन्दिर पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागि ५ हजार भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।भीडलाई व्यवस्थित गर्न ७० भन्दा धेरै संघ/संस्था, रेडक्रस र स्वंयसेविकाहरु पनि खटिएका छन् भने स्वास्थ्य शिविर पनि राखिएको छ । मन्दिर भित्र प्रवेश गर्न नसक्नेहरुका लागि बाहिर २ ठाउँमा चन्दनको व्यवस्था पनि गरिएको छ ।