११ विद्यार्थी संगठनद्वारा शिक्षामन्त्रीको राजीनामा माग
काठमाडाैं, १६ चैत । ११ वटा विद्यार्थी संगठनहरुले एसईईको परीक्षाको प्रश्नपत्र बाहिरिएर हुन गएको गम्भीर लापरवाहीका कारणले लाखौं विद्यार्थीहरुको भविष्यमाथि गम्भीर खेलवाड भएको भन्दै नैतिकताको आधारमा शिक्षामन्त्रीको राजीनामा र दोषीमाथि कारबाहीको माग गरेका छन् । शुक्रवार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बसेको संयुक्त प्रतिपक्षी विद्यार्थी संगठनहरुको बैठकपछि विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षर गरिएको संयुक्त विज्ञप्तिमा उक्त कुरा बताइएको छ । संयुक्त विज्ञप्तिको सुरुमा भनिएको छ– “यही चैत १० गतेदेखि सुरु भएको एसईई परीक्षाको प्रश्नपत्र त्रुटिपूर्ण हुनु गम्भीर लापरवाही र प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारीपन हो । यसले लाखौं विद्यार्थीको भविष्यमाथि ठूलो खेलवाड भएको छ । यस क्रियाकलापको घोर विरोध एवम् भत्सर्ना गर्दछौं । नैतिकताको आधारमा शिक्षामन्त्रीको राजीनामा र उक्त क्रियाकलापमा संलग्न दोषीउपर कडाभन्दा कडा कारवाही गर्नसमेत जोडदार माग गर्दछौं ।”
एसईईका प्रश्नपत्रहरुमा गम्भीर त्रुटीहरु भेटिइनुका साथै सामाजिक विषयको प्रश्न पत्र आउट भएकाले परीक्षा समेत् स्थगित हुन पुगेको छ । त्यसपछि आक्रोशित हुन पुगेका विद्यार्थीहरु विरोधका लागि सडकमा समेत् उत्रिएका छन् । यसले देशको शैक्षिक अवस्था कति गैर जिम्मेवार र अलपत्र अवस्थामा रहेको छ भन्ने कुरा प्रष्ट देखाएको छ ।
संयुक्त विज्ञप्तिको अन्त्यमा ‘संय’क्त प्रतिपक्षी विद्यार्थीको आयोजनामा चैत १५ गते गर्ने भनिएको कार्यक्रम विशेष कारणवस स्थगित भएकाले उक्त कार्यक्रम चैत २० गते १ बजे राष्ट्रिय सभागृहमा गर्ने निर्णय गरिएको’ जानकारी पनि गराइएको छ ।
संयुक्त विज्ञप्तिमा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जिवी ढकाल, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रवीण मिश्र, अनेरास्ववियु (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निष्पक्ष, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।