‘ ने.क.पा.लाई प्रतिबन्ध लगाएर सरकार तानाशाही बाटोमा हिड्यो ‘

२०७५ चैत्र १६ गते, शनिबार

काठमाडाैं, १६ चैत । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले सरकार दुईतिहाईको दम्भ बोकेर तानाशाही बाटोमा अघि बढिरहेको ठोकुवा गरेका छन् । उनले सिके राउतसँग अचानक सहमति गर्नु, रेशम चौधरीलाई आजीवन जेल हाल्नु अनि विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकार तानाशाही बाटोमा हिडेको पुस्टि भएको बताएका छन । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित एक वैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव किरणले सत्तासिन दलहरुले आफ्नो इतिहास भुलेको भन्दै भने– ‘२०२८ मा झापाको बन्दुकले माले, एमाले हुँदै केपी ओलीलाई प्रधानमन्त्री बनायो । १० वर्षे जनयुद्धको बन्दुकले प्रचण्ड माथि पुगे, अहिले तिनीहरुकै सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगायो, यो सरकारको दमनकारी नीति हो । राजनीतिक कुरा राजनीतिक ढंगले टुंग्याउनु पर्छ, प्रतिबन्धलगाएर होइन ।’
‘सिके राउतसँगको सहमतिमा सरकार जनमत संग्रह गर्न तयार भएको हो कि होइन भनी महासचिव वैद्यले प्रश्न समेत गरेका छन् । द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्ग संघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसात् नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुनै नसक्ने नेता वैद्यले बताए । उनले भने, ‘कम्युनिस्ट भन्ने सत्तामा बसेको छ, म त यो सरकारलाई कम्युनिस्ट भन्दिन, हुँदा पनि होइन ।’

प्रतिक्रियाहरु

[anycomment]