बलात्कारीलाई मृत्युदण्ड, चाेरका हातखुट्टा काटिने !
काठमाडौ, २० चैत । दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्।
ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र सुल्तानले केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएका थिए।ब्रुनाईका प्रधानमन्त्री पनि रहेका सुल्तान संसारका सबैभन्दा धनीमध्येमा पर्दछन् । गएको शनिवार सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि सरिया मुलुकी संहिता लागु हुने घोषणा गरेको हो।
संयुक्त राष्ट्रसङ्घले पनि मुलुकी संहितालाई ‘क्रूर, अमानवीय र अपमानजनक’ भएको र मानव अधिकार संरक्षणमा बाधा पार्ने बताएको छ।
के के सजाय छन्?
बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्डको व्यवस्था नयाँ कानुनमा छ। गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरीका लागि हातखुट्टा काट्ने व्यवस्था छ। साथै १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई इस्लामभन्दा अरू धर्मका बारेमा सिकाउनु पनि गैरकानुनी बनाइएको छ। कानुन मुलत इस्लाम धर्मालम्बीमा लागु हुने भए पनि यसका केही व्यवस्थाहरू सबैमाथि लागु हुन्छ।-बीबीसी