६ किलो सुनसहित चार भारतीय पक्राउ

२०७५ चैत्र २२ गते, शुक्रबार

काठमाडौं, २२ चैत । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाइल्यान्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र सरिता जैन रहेका छन् । थाइ एअरबाट नेपाल आएका उनीहरुले आवश्यकभन्दा बढी गरगहना लगाएको देखेपछि प्रहरीले चारैजनालाई पक्राउ गरेको हो ।
प्रहरीले करिब रु दुई करोड ९६ लाख ८ हजार मूल्य बराबरको सुन बरामद गरेको हो । प्रहरीकाअनुसार जतिनबाट एउटा बाला र एउटा सिक्री, सुनिताबाट ६ थान बाला र सिक्री दुईथान, बविताबाट ६ थान बाला र दुईथान सिक्री तथा सरिताबाट ६ थान बाला र दुईथान सिक्री बरामद गरिएको हो । पक्राउ परेकालाई अहिले गौशालास्थित प्रहरी वृत्तमा राखी अनुसन्धान भइरहेको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु